• काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २५३ जनामा कोरोनाभाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ । मन्त्रालयको कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यस अवधिमा १२ हजार ७ सय ८४ वटा नमूनाको पीसीआर परीक्षण हुँदा उक्त संख्यामा नयाँ संक्रमित थपिएको पुष्टि गरेका हुन् । यीसहित नेपालमा संक्रमितको संख्या ८६ हजार ८२६ पुगेको छ ।

    २४ घण्टामा थप १ हजार ३ सय २९ जना डिस्चार्ज भएको सो अवसरमा प्रवक्ता डा. गौतमले बताए । उनका अनुसार कुल संक्रमितमध्ये हालसम्म ६४ हजार ६९ जना कोरोना मुक्त भएका छन् । त्यसैगरी हाल सक्रिय संक्रमितको संख्या २२ हजार २१९ पुगेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना छन् भने क्वारेन्टिनमा बस्नेको संख्या ४ हजार २०३ रहेका छन् । अहिले संक्रमितमध्ये २२६ को सघन उपचारमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता गौतमले बताएका छन् ।

    मन्त्रालयका अनुसार यस अवधिमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । यसरी नेपालमा अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ५३५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।