• २०६८ सालमा लेखिएको शरच्चन्द्र वस्तीको हिज्जेसम्बन्धी लेख रउँ रउँ पढेपछि मलाई केही कुरा चित्त बुझेन र नेपाली भाषामा हुँडेलो निकाल्ने करिब ५० जनामध्ये केही ठेकेदारहरूका नामै तोकेर मेरा पनि अहंकारका शब्द लेख्न बाध्य छु । कसैको मानमर्दन हुन गएमा क्षमायाचनासहित :


    शरच्चन्द्र वस्तीका हिज्जेसम्बन्धी लेख पढेपछि कतिपय कुरा सही लागे तर यिनका पनि कतिपय लिँढेढिपी र जिरहका कुरामा तुक छैन भन्ने लाग्यो । स्रष्टाहरूको सिर्जनामा अवरोध खडा गर्ने अधिकार कसैलाई हुँदैन । चाहे मुकुन्दशरण उपाध्याय हुन् चाहे हेमाङ्गराज अधिकारी । सर्वप्रथम यी दुवैले आआफ्ना घमन्ड र विना तुकका जिरह र लिँढेढिपी त्याग्न सक्नुपर्छ !


    जबर्जस्तीका केही उदाहरण :


    मलाई मेरा बाले २०३० सालमा चंद्रप्रसाद (चम्द्रप्रसाद) लेख्न सिकाएको हो तर भाषा गतिशील हुन्छ भन्नेहरूले परम्परादेखि चल्दै आएको चंद्रप्रसाद होइन, चन्द्रप्रसाद लेख्नुपर्छ भनेर सिकाए । केके हो अरू यस्तैयस्तै थुप्रैथुप्रै हिज्जेहरूमा अदलबदल गरेर लेखेको छु मैले विगत ४० वर्षदेखि । भूत वर्तमानका पण्डितहरूले यसरीउसरी जसरी लेख् बाई केटा भनेर दवाब दिए उसै गरी लेखिदिएको छु । त्यतिमात्र हो र कतिले त भइरहेको या पटकपटक सच्चिँदै आएको ”चन्द्रप्रसाद”लाई ”चन्द्र प्रसाद” छुटाएर लेखिनस् भने तेरो बाउको बिहे देखाइदिन्छु समेत भने । यसोभन्दा पनि खुसीले सीमा नाघेर भन्न मन लाग्ने- ओहो ! मरिसकेका बाउआमाको बिहे देखाउन सक्ने महान् विद्वान् पनि रहेछन् मेरो देशमा । धत्तेरी ! राज्यले केही गरेन । हेर ! हेर ! राज्यले केही गरेन यस्ता यस्ता महान् साहित्यकार विद्वान्हरूलाई खै सम्मान पुरस्कार दिएको ? देशै खत्तम छ । मेरा मनले एकोहोरो केके कुरा बोलिरहे ।


    एकातिर विभक्ति छुटाउनुपर्छ भन्नेहरूले गुन्डागर्दी पठाए भने अर्कोतिर नछुटा भन्नेहरूको गुन्डागर्दी । राजाका सेना र माओवादीका सेनाले चेपेको भन्दा बढ्ता चेपे । उता जिउ थङथिलो यता दिमाग । हैट कति सहनु यिनका शासन ? कहिलेकाहीँ त आफै सङ्घर्षमा निस्कूँ कि भन्ने लाग्छ तैपनि आत्मसंयम ठुलो कुरा हो भन्ने ठान्छु ।
    मोतीरामहरूले लेख्दै आएका ”क्यारूँ” शब्द जस्ताको तस्तै लेख्दा ”क्यारूँ” त कथ्य हो लेख्य होइन ”के गरूँ” लेख् ”क्यारूँ” नलेख् भने, त्यसै गरेँ । फेरि अहिले ”क्यारूँ” लेखिनस् भने तेरो बङ्गारा झार्छु भनेर धम्की दिनेहरूको धुइरो लागेको छ ।
    यसरी मैले मानेका २-४ जना विश्वविद्यालयका काइते गुरुका तर्कमा तुक रहेनछ भन्ने भेदहरू खुल्दै गए । श्रुतिसम द्वैधरूपी एकार्थक शब्दहरू दुवै रूप लोकभाषा (वक्ताको भाषा) हो । विना प्रमाण विना आधार जबर्जस्ती काइतेहरूले लादेको नियममा मैले कति हिँड्नु ? उनीहरूको गलत निर्देशन हो भन्ने कुरो पनि थाहा छ तर विभिन्न सीमा र परिधिले मैले बोलेका कुरा उनीहरूले सुने भने आफू तल परिने भन्ने हुनेरहेछ ।


    मैले कतिपटक ”हजूर-हजूर” लाएँ । उनीहरूले ”हजुर” भनिनस् भनेर मलाई अयोग्य साबित गरे । योग्य बन्नका लागि ”हजूर” भन्न छाडेर ”हजुर-हजुर” भनेँ । फेरि गलत बोलिस् भनेर झम्टे । यी श्रुतिसम द्वैधरूपी एकार्थक शब्दहरू लेख्दा, सुन्दा, भन्दा फरक अर्थ नलाग्ने भएपछि दुवै रूप चलाए के फरक पर्छ र भन्यो मेरो अयोग्यताले । लोकको मान्यता धर्तीमा कसैले काट्न सक्तैन भन्ने बुझेको हो मेरो अयोग्यताले तर उनीहरूको योग्यताको गुट र हैसियतका कारण ”हजुर” र ”हजूर” दुवै रूप चलाउन मिल्नेलाई पनि मिल्दैन भनेर समयको बर्बादी गरिरहे । यसरी अनावश्यक र कुनै तुक प्रमाण नभएका कुरामा समय बर्बादी गरुन्जेल नयाँ कुराको खोजी गरेका भए हाम्रा देशका विद्वान्का पनि संसारका नाउँ चलेको विद्वान्हरूका लहरमा जस्तै नाम अमर हुन्थ्यो नि ! जस्तो लाग्ने के ! कति सोझो मन मेरो तर उनीहरूले यही मनलाई सात ठाउँमा बाङ्गिएको देखे । अष्टवक्र देखेर छिःछिः र घृणा गरे । एउटा नून लेख् भन्छ, अर्को नुन लेख् भन्छ । दुवैको एउटै स्वाद नुनिलै हो भन्ने कुरा कहिले बुझ्लान् हाम्रा घक्रान्त विज्ञहरूले ।


    एकार, ऐकार, ओकार र औकार लागेका शब्दहरूमा शिरविन्दु हटाएर चन्द्रविन्दु दे ! भने, त्यसै गरेँ । जस्तो : बनाउँछौं- छौँ, सयौं- सयौँ, कयौं-कयौँ, बैंस- बैँस, अै सेलु- ऐंसेलु/ऐँसेलु आदि कति छन् छन् यस्ता शब्दहरू । त्यतिमात्र हो र वंदना-वन्दना, उंदा-उम्दा, मंजरी-मञ्जरी/मन्जरी, फंदा-फन्दा अनेकादि शब्दहरूका निहुँमा कति शासन गरे गरे ।


    नेपाली शाकुन्तल महाकाव्यमा लक्ष्मीप्रसाद देवकोटाले २००२ सालमा लेखेका रहेछन् :
    ”सुकाउँदा उ देखिए अनेक चारु वल्कल”


    भन्ने पाउमा उ भएन ऊ हुनुपर्ने, वल्कल भएन बल्कल हुनुपर्ने भनेर समीक्षा लेख्ने समीक्षकहरूले ”नेपाली शाकुन्तल” महाकाव्यकालाई अशुद्धको कोटिमा राखे । देवकोटाले यो हिसाबले शाकुन्तलकै अर्को एक पाउमा पनि लेखेका रहेछन् :
    ”सुसेलिंदा र केकिंदा, कराउँ र कुर्लिंदा”
    उक्त श्लोकमा कति गल्ती देखे होलान् ? देवकोटाले प्रयोग गरेको ”कुलुल्” शब्दमा ”लु” स्वतः दीर्घ छ त्यसो कहाँ हुन्छ र ? कुलुल्-कुलूल्, भनुन्-भनून्, बनुन्-बनून् शुद्ध हो, देवकोटाले कहाँ मिलाएको छ र भनेर बाह्र हात उफ्रिने समालोचकहरू पनि यहीँ छन् । अहिले त झन् बाबै ! काङ्ग्रेस पक्षको समीक्षक कम्निस्टेहरूले भनुन् लेखेर भाषा खत्तम पारे, देश स्वाहा पारे आरोपमाथि आरोप थुपार्दै तीन हात उफ्रिन्छ । फेरि यता कम्निस्टेहरू के कम ? मेरी आमोई नि ! संसारमा कतै नभएको प्रगतिशील, प्रगतिवादी रे ! काङ्ग्रेसको समीक्षकलाई तल झार्नकै निम्ति कम्निस्टेका समीक्षकहरू बनुन् होइन बनून् शुद्ध हो भनेर अर्थ न वर्थ गोविन्द गाई भने झैँ विना तुकका तर्क अगाडि सार्छन् ।

    फेरि देवकोटाको अर्को पाउ याद आयो :
    ”हलचलहरू भर्दै पङ्ख झैं खल्बलाई”


    यता फेरि देवकोटाले उक्त पाउमा झैं जोड्नुपर्ने छुटाएछन् भनेर गिल्ला गर्ने आधुनिक महाकविहरू विनाअध्ययन किन उफ्रेका होलान् ? कोही जोड्नुपर्छ, कोही पर्दैन भनेर डाँडामा बसेर चिच्याउन्जेल खुरुखुरु सिर्जना गरे के बिग्रन्थ्यो र !
    उता फेरि नेपाली भाषाभन्दा हिन्दी भाषा सभ्य छ हिन्दीजस्तै बनाउन विसर्ग छुटाएर लेख् भनेर केही चिच्याइरहेका छन् । हजारवर्ष पहिलेदेखि विसर्ग नछुटेको लिखित दस्तावेजहरू भएको नेपाली भाषाको अस्तित्व समाप्त पारेर तिनले के जित्ने हुन् ? नेपालीको मूल संस्कृति हो । संस्कृतमा विसर्ग छुटाइएको छैन । हिन्दीले छुटायो भन्दैमा उसको नक्कल किन गर्नुपरेको होला ? नेपाली भाषाको छुट्टै अस्तित्व राख्न हिन्दीजस्तै बनाएर हुँदैन भन्ने सोच्छ कहिले यो मनले । के बुझ्या छस् त तैँलेचाहिँ जस्तो लाग्ने के यो अबुझलाई । बुझकीहरूले गरेका कामका टीकाटिप्पणी किन गरिस् भन्छ एउटा मनले ।

    भविष्यमा पछुताउन पर्ने काम नगर है भनेका थिए रे बुद्धले भनेको पनि सुनेको छु तर यो अल्पज्ञान किन बुरुक्बुरुक् उफ्रेको होला भन्छ अर्को मनले ।
    बिहानबिहानै फेरि उही हिज्जेका कुरा । बेलुका उही हिज्जेका कुरा सुत्ने बेला, खाने बेला, जतिखेर जतिबेला पनि कति सुन्नु यिनका ताई न तुईका कुरा जस्तो पनि लाग्छ कहिलेकाहीँ त । आजकाल त मलाई खरानीको डोरी बाटेर खोर्सानीको बोटमा झुन्डेर मर्नुजस्तो भएको छ ।
    फेरि कहिलेकाहीँ त भानुभक्तीय या भानुपूर्वकै भाषा फर्काउने आँट नभएका यी धुन्धुकारी पण्डितहरूका प्रवचन पढेर मैले के शिक्षा आर्जन गरूँला र ? जस्तो पनि लाग्छ । विद्वान् भनिएका यी धुन्धुकारी पण्डितहरूले एकले अर्कोलाई सराप्ने तथानाम गाली गर्नेभन्दाबाहेक समाजका लागि अरू कुनै गतिशील, प्रगतिउन्मुख, व्यावहारिक शिक्षा दिएको छ त ? आफैले आफैलाई सोध्ने गर्छु । कहिले टोलाउँछु कहिले लोलाउँछु । एउटै शब्दलाई बाह्र जनाको बाह्र मतले यसरी सच्याउनू, ए हैन हैन उसरी पो ! भनेर बाह्र घन्टामा बाह्रपटक कति सच्याउनु हो ?


    भाषालाई मानकीकरणमा लैजान तपाईं र ऊ अनि ऊ र म, उसले र त्यसले, यो र त्योबिचको प्राविधिक छलफल हो । मपाइँत्व र अहंकारको झगडा होइन । हेमाङ्गराज अधिकारीका केही कुरामा घमन्ड, मिचाहाप्रवृत्ति र मपाइँत्व देखिए पनि अधिकांश तर्कहरू ठिक लागेका छन् । त्यसो हुनाले हेमाङ्ग अधिकारी विद्वान्, तपाईं पनि विद्वान्, उहाँ विद्वान्, उहाँद्वारा प्रशिक्षित चेलो पनि विद्वान् । यहाँ विद्वान्हरू प्रशस्तै जन्मिसकेका छन् ।


    सय वर्षअघि वि.सं. १९८०-८१/१९९०-९२ तिरको जस्तो भाषाको लडाइँ होइन यो । सङ्ख्याका तुलनामा अहिले धेरै जना शरच्चन्द्र वस्तीहरू विद्वान् भएका छन् । अझ अघिल्ला चरणका मुकुन्दशरण उपाध्याय पनि विद्वान्, माधवप्रसाद पोखरेल पनि विद्वान्, नेपाली विषयमा पहिलो विद्यावारिधि गर्ने धेरैका गुरु वासुदेव त्रिपाठी पनि विद्वान्, यता पछिल्ला चरणका प्राध्यापकहरू रामप्रसाद ज्ञवाली, देवी नेपालहरू पनि विद्वान्, अझै गाउँले बलदेव अधिकारीहरू पनि विद्वान्, पुरातनवादीहरू पनि विद्वान्, गतिशील भनिनेहरू पनि विद्वान् । कतिकति यिनै विद्वान्हरूका नाम मात्रै लेख्दै जाने हो भने १० हजार शब्दले पनि पुग्दैन ।


    तपाइँहरूजस्ता विद्वान्हरूको छत्रछायामा बस्न पाउँदा हामीजस्ता भारेभुरे टाकुरे मैदानेजस्ता स्रष्टाहरूलाई गर्व छ तर विद्वान्-विद्वान्हरूबिच किन झगडा गर्नुहुन्छ ? पश्चिमाहरूले मङ्गल ग्रहका भाषा बुझ्न थालिसके तपाईंहरू संसारभरिका जाबो ११-१२ करोड मान्छेले बोल्ने नेपाली भाषाको प्राविधिक पक्ष मिलाउन सक्नुहुन्न ? एकले अर्कालाई किन दोषारोपण गर्ने ? मिलाउनु पो पर्छ त !


    हिहिहि… ! हामीले भाषाको मुद्दा जित्यौँ अब तिनलाई जेल हाल्नु पर्छ भनेर खिसीट्युरी गर्ने हो त ! म नै जान्ने हुँ उसले भनेको मैले किन टेर्ने ? त्यो त प्रजातान्त्रिक समूहको हो यो साम्यवादी समूहको हो भनेर भेदभाव किन गर्नुपर्योभ बाबै ! तपाईंहरू त ठुला मान्छे पो त ! आफ्नै अस्तित्व र पहिचान बनाउन सक्नुहुन्न ? बनेको भए बचाउन सक्नुहुन्न ? सक्नुहुन्न भने आउनोस् म तालिम दिने पुस्तकहरू उपलब्ध गराइदिनेछु ।


    नामका अगाडि डा. त्यतिकै झुन्डिदैन जसले समाजलाई नयाँ कुराको दिशानिर्देश गरोस्, नयाँ आविष्कार गरोस् र आविष्कारक बनोस् ! सामाजिक मान्य र मूल्यताको स्थापना गरोस् भनेर विश्वविद्यालय खुलेका हुन् । खै हाम्रा डा. लेख्नेहरूका पहिचान ? तेरो गोरुले मेरो बाली खायो देखाजायगा ! अँ… ! होला नि ! हिजो तेरो बाख्राले पनि मेरो साग खाएको होइन ? फुर्ती लाउँछस् भनेरै बाझाबाझ गरिरहने कि आफ्ना बाख्राबस्तु गोठालो लागेर हेर्ने ? जवाफ दिने हैसियत छ ?


    बरु हामी सक्दैनौँ भन्नोस् ! आउनोस् कक्षामा म मानकभाषा निर्माण गर्ने फरम्याट तयार गरिदिनेछु ।
    चिन्तकले अर्कालाई दोष दिँदैन । नयाँ कुराको आविष्कार गर्छ । भानुभक्त आचार्य, मोतीराम भट्ट, रेवतीरमण न्यौपानेहरू, सोमनाथ सिग्द्यालहरू, ताना शर्माहरूलाई किन दोष दिने ? ती-तीले आआफ्नो युगमा चलखेल गरेका हुन्, टेर्नेले टेरे नटेर्नेले टेरेनन् । माध्यमिककालसम्म प्राचीन तरिकाबाटै लठपत्र तरिकाले प्रयोग भएका भाषालेखनलाई लेखनाथले आधुनिकतातर्फ मोडेका होइनन् र ! भाषा गतिशील हुन्छ भन्ने प्रमाण लेखनाथले दिएकै हुन् नि ।

    त्यसअघि (लेखनाथपूर्व) भाषाआन्दोलन कहिले कहिले भए ? अध्ययन गरेका होलान् त आधुनिक अध्येताहरूले ? मेरै गोरुको बाह्रै टक्का भनेर अडान लिएर बसेका भए रेवतीरमण न्यौपाने, श्यामजीप्रसाद अर्ज्यालहरूले भानुभक्तदेखि चल्दै आएको परम्परालाई तोडेर नयाँ किसिमको लेखनगति दिनसक्थे होलान् त ? अझ अगाडि ककसको उदाहरण दिऊँ ? कुरो जति लम्ब्याए पनि उही हो तपाइँहरू तुरुन्तै मिल्नोस्, हाम्रा (स्रष्टा/लिखित स्रष्टा नै जेठो हुन्छ) पनि कुरा सुन्नोस् भाषिक एकताका लागि मानकभाषा निर्माणका लागि अहिल्यैबाट जुट्नुहोस् ।