• काठमाडौं : साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौं उपत्यकामा ४० वटा बिजुली बस सञ्चालन शुरु गरेकाे छ । यसका लागि आवश्यक ११ वटा चार्जिङ स्टेशन साझाको हाताभित्र निर्माण भएको छ । यो देशकै सबैभन्दा ठूलो चार्जिङ डिपो हो ।

    बिजुली बस र चार्जिङ डिपोको आज उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्धाटन गरे । उनले अब नेपालमा अत्याधुनिक ट्राफिक बत्ती जडान कार्यलाई अगाडि बढाउने सरकारको योजना रहेको बताए । यस्तै भूमि, व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले साझालाई सबैको अपनत्व हुनेगरी लैजानुपर्ने बताए । साथै यसलाई नाफामूलक बनाउनुपर्नेमा उनको जोड छ ।

    कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले पुराना डिजलबाट चल्ने गाडीलाई बिजुलीबाट चल्ने बनाउने नीति ल्याउन सरकारसँग माग गरे । यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले साझाका यातायात महानगरको खास क्षेत्रमा पनि सञ्चालन गर्नुपर्ने बताए ।

    चीनबाट आयात गरिएका नाै मिटर लामा ४० वटा बस चार्जिङ स्टेशनको अभावमा सञ्चालनमा आउन सकेका थिएनन्, अब भने त्यो समस्या नरहेको साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितले बताए। साझाकै हाताभित्र तीन महिना लगाएर १ दशमलव ५ मेगावाट क्षमता बराबरको बिजुली खपत गर्न सक्ने क्षमताको चार्जिङ डिपो निर्माण गर्न सफल भएको उनले जानकारी दिए । साझालाई सरकारले लगानी गरेअनुसार त्यसको एक तिहाइ रकममात्र खर्च भएको पनि अध्यक्ष दीक्षितको भनाइ छ ।

    वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यकाे फाइदाका लागि ल्याइएको बसको परीक्षण साझा आफैँले गरेको छ । चीनबाट आयातित ४० वटा बसमध्ये तीन वटा गएको जेठ १ गतेदेखि सञ्चालनमा आएकाे थियो । अहिले सञ्चालनमा आएका बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस पूर्ण चार्ज हुने साझाले जनाएको छ । एक पटक पूरा चार्ज गरेपछि दुई सय किलोमिटरसम्म गुड्न सक्ने साझा यातायात सहकारी संस्था लिमिटेडका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए ।

    साझाकाअनुसार बस होचो (लो फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्नका लागि पनि ठाउँ रहेको छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी र अरू सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ । अरू बसभन्दा यी बस यात्रुका लागि बढी आरामदायी रहेको साझाकाे दाबी छ ।