• काठमाडौं : सप्तकोसी नदीमा पानीको सतह केही कम भएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अस्ति राति र हिजोको तुलनामा आज पानी केही कम भएको छ । हिजो बिहान सप्तकोसीको भङ्गालो फुटेर बस्तीमा पस्दा झन्डै १५ सय घरपरिवार प्रभावित भएका छन् ।

    सप्तकोसी नदीको एउटा भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै दक्षिण पश्चिम क्षेत्र पस्दा बेलका नगरपालिकाका १, २, ३, ८ र ९ वडाका झन्डै १५ सय घरपरिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अहिलेसम्म कुनै मानवीय क्षति नभएको तर धान, मकैलगायतका खेतीबालीमा क्षति पुगेको छ । बाढीबाट प्रभावित परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए।

    उद्धार गरिएका नागरिकको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाइएको पनि उनको भनाइ छ । सुरक्षित ठाउँमा राखिएका नागरिक तत्काल पुरानो ठाउँमा फर्कन सक्ने अवस्था छैन ।

    हिजो बिहान बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै सिसौली टप्पु–चिलिया बस्तीतर्फ पस्न सुरु गरेको थियो । बेलका नगरपालिका मेयर अशोक कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाहरुबीचको बैठक बसेर बेलका र बराहक्षेत्र नगरपालिकाका मेयरको संयोजकत्वमा खोज, राहत तथा पुनर्स्थापना समिति गठन गर्ने निर्णय समेत भएको छ । बैठकले नदीले पुर्याएको तथा पुर्याउन सक्ने थप क्षतिबारे आधिकारिक सूचना सम्प्रेषण गर्न सूचना संयन्त्र निर्माण गर्ने पनि निर्णय गरेको छ ।

    सप्तरीका सप्तकोसी र कञ्चनरुप नगरपालिकाका प्रभावित हुनसक्ने वडाका बासिन्दालाई सतर्क गराइएको छ । बाढी प्रभावितको आश्रयस्थलका लागि बेलका नगरपालिकाको वडा नम्बर–९ धौरीमा ५ सय घरपरिवार, वडा नम्बर–८ को एकता, चिलिया, दुर्गा मन्दिर टोलमा ५ सय घरपरिवार, वडा नम्बर–३ बुधबारे, शुक्रबारेमा ५ सय घरपरिवार, वडा नम्बर–३ बानडाँडा, रामनगर, नारायणपुरमा, शिवालयमन्दिर, लालभित्त, भागलपुरमा ८ सय घरधुरीका लागि आश्रयस्थल बनाउने निर्णय भएको छ ।

    बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न नमानेका र थप क्षति हुनसक्ने भन्दै जिल्ला प्रशासनले सबै नागरिकलाई सुरक्षित ठाउँतर्फ जान पनि अनुरोध गरेको छ । आवश्यक राहत र उद्धारका काम सुरक्षा निकायको सहयोगमा भइरहेको छ ।