• काठमाडौं ।


    भोटेकोशी गाउँपालिका चीन र नेपालको सीमामा पर्ने एउटा गाउँपालिका । जहाँ प्रजातन्त्रप्राप्तिपछि नेपाली काँग्रेसको राम्रै उपस्थिति थियो । मुलकको नयाँ संरचनापछि भएको स्थानीय निर्वाचनमा पनि माओवादीको उपस्थिति नगण्यरुपमा थियो । सामान्य परिवारका बाहेक माओवादी रोज्ने यस पालिकामा ज्यादै थोरै थिए । नाकामा पर्ने गाउँपालिका भएका कारण यहाँ व्यापार व्यवसाय गर्नेहरुको बाक्लै उपस्थिति हुनु स्वभाविक हो ।

    व्यापार गर्ने व्यवसायीहरुले माओवादीप्रति लगाव राखेका थिएनन् । सांगठनिकरुपमा नै कमजोर रहेको माओवादी एकाएक पहिलो स्थानीय तहको निर्वाचनमा पहिलो दल भएर अध्यक्ष र उपाध्यक्ष बिजयी बनाउन सफल भयो । पाँच वटा वडा मध्ये एक वटा वडामात्र जितेको माओवादीको त्यो समयमा ३ सय पचासका हाराहारीमा मात्र संगठित सदस्य थिए ।

    जवकि यो पालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका एक हजार भन्दा धेरै कृयाशिल र संगठित सदस्य थिए । सदस्य संख्या नै कम भएको माओवादीको हसियाँ हथौडा चिन्ह लिएर उम्मेदवार बनेका राजकुमार पौडेलले माओवादीलाई यहाँ पहिलो दल बनाईदिए । यहाँका राजनीतिका बारे जानकारहरुका अनुसार भोटेकोशीमा माओवादी भन्दा पनि राजकुमार पौडेल जितेका हुन् ।
    पाँच बर्षसम्म स्थानीय तहको प्रमुख बनेर काम गरेका राजकुमार पौडेल सफल व्यवसायी हुन् त्यसकारण उनको कार्यकालमा आर्थिक अनियमितताको कुनै धब्बा लागेन । जबकि महालेखा परिक्षकको प्रतिवेदनमा पनि यो पालिकाको रिपोर्ट अव्वल देखियो । सरकारी बजेटमा आँखा लाउनु भन्दा पनि आवश्यक परे व्यक्तिगत खर्चमै विकासको काम गर्न अघि सर्ने राजकुमार पौडेललाई स्थानीय जनताले पनि रुचाएको वडा नम्वर चारका भक्त थामीले बताए ।

    कोही आर्थिक अभाव भएको बिरामी भेटेमा व्यक्तिगत खर्चमै उपचार गराईदिने पौडेलको बानी रहेको थामीको भनाई छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि पौडेल पालिका अध्यक्षको उम्मेदवार बने उनको उम्मेदवारीसँगै यहाँका माओवादीका कार्यकर्ताले सामुहिक राजीनामा दिए ।

    त्यसको प्रभाव निर्वाचनमा पर्यो । आफैले मेहनत गरेर निर्माण गरेर पार्टी संगठन पनि पौडेलको बिरुद्धमा लगाउने काम केही माओवादीहरुले गरे र पौडेल झिनो मतका अभावमा उपबिजेता बन्न पुगे । भोटेकोशीका एक माओवादीका अगुवा कार्यकर्ता भन्छन्,–‘पौडेलको सकृयता कम भयो भने भोटेकोशीमा माओवादी क्रमश गिर्दै जानेछ’।