• काठमाडौं ।

    प्रहरीले ठेकेदार कम्पनी सुनौलो खिम्ति कन्स्ट्रक्सनका मालिक रामहरी थापाका परिवारनै किर्ते काममा रहेको जनाएको छ । जिल्ला अदालत काठमाडौंले जालसाजी गरेको ठहर गरेपछि थापा फरार थिए । प्रहरीको अनुसन्धान ब्यूरोले थापा लाई पक्राउ गरेपछि नयाँ रहस्य खुलेको हो ।
    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

    जालसाजी कसुरमा उनीसहित मेखबहादुर श्रेष्ठ र कुमार श्रेष्ठ लाई जनही दुई÷दुई बर्षको कैद सजाय सुनाएको थियो । गत १३ मंसिरमा अदालतका न्यायधीश रामप्रसाद शर्माको इजलासले उनीहरु विरुद्ध कैद सजाय हुने ठहर गरेको थियो । सजाय सुनाएका मध्ये मेखबहादुरलाई प्रहरीले यस अघि नै पक्राउ गरि सकेको छ । कुमार भने फरार छन् । सिआईबी प्रमुख डिआईजी धिरजप्रताप सिंहले ठेकेदार कम्पनीका मालिक रामहरीलाई पक्राउ गरिएको बताए ।
    उनले भने,‘रामहरी थापालाई हामीले पक्राउ गरेका छौं । अदालतले उनी विरुद्ध दुई बर्ष कैद सजाय हुने फैसला गरेको रहेछ । खोज्दै जाने क्रममा उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो । घटना सम्वन्धमा अनुसन्धान जारी छ ।’


    प्रहरीका अनुसार उनले सुनौलो खिम्तिसँग सरोकार नै नभएका मेखबहादुर र कुमारको नाममा रोक्का राखिएको बैंक खाताबाट तीन करोड पाँच लाख रुपैयाँको चेक काटेका थिए । उनकै योजनामा मेखबहादुर र कुमारले चेक बैंकमा बाउन्स गराएका थिए । आफु ठगिएको भन्दै मेखबहादुर र कुमारले सुनौलो खिम्तिका अन्य साझेदार विरुद्ध मुद्धा हालेका थिए । सोही मुद्धापछि सुनौलो खिम्तिका सबै साझेदारको सम्पती तथा बैंक खाता रोक्का भएको थियो ।


    अदालतले रामहरी, मेखबहादुर र कुमारलाई नै दोषी ठहर गरेपछि सुनौलो खिम्तिका अन्य साझेदारका बैंक खाता र सम्पति फुकुवा गरिएको छ । अदालतकोे फैसलामा भनिभएको छ,‘अख्तियारी बिना नै चेक बुकबाट प्रतिवादी मेखबहादुर र कुमारले भुक्तानी पाउने गरि तीन करोड ५ लाख रुपैयाँको चेक अनादर समेत गराई कम्पनीका सञ्चालक सेयर धनीलाई नेक्सानी पुर्याउने र प्रतिवादीलाई लाभ हुने गरि जालसाजीपूर्वक चेक जारी भएको हुँदा प्रतिवादीलाई दुई बर्ष कैद सजाय हुने ठहर्छ ।’


    श्रीमती र आफन्तको नाममा अर्को सवा तीस करोडको चेक


    ठेकेदार रामहरीले श्रीमती बिमला श्रेष्ठ र सम्मान ट्रान्सपोर्टको नाममा २९ करोड ७५ लाख रुपैयाँको जाली चेक काटेको खुलेको छ ।
    प्रहरीका अनुसार १४ करोड २५ रुपैयाँको चेक श्रीमती बिमलाको नाममा छ । बाँकी १५ करोड ५० लाख रुपैयाँको चेक सम्मान ट्रान्सपोर्टको नाममा छ । बिमलाको नाममा काटिएको १४ करोड २५ लाखको चेक गंगा इन्द्रावती क्रसर उद्योगको बैक खाताको हो । १५ करोड ५० लाखको चेक भने सुनौलो खिम्तिको नाममा खोलिएको बैंक खाताको हो । पाँच बर्ष अघि बिमलाको नाममा काटिएको चेक इन्द्रावतीका सञ्चालकले जालसाजीको मुद्धा हालेपछि हाल जिल्ला अदालत काठमाडौंमा बिचाराधिन छ ।


    प्रहरीका अनुसार पाँच बर्ष अघि रामहरी इन्द्रावती कन्स्ट्रक्सनमा साझेदारका रुपमा प्रवेश गरेका थिए । तर, लगानी गर्न नसकेपछि उनी कम्पनीमा सहयोगीका रुपमा कार्यरत थिए । यही क्रममा उनले इन्द्रवतीको हस्ताक्षर गरिएका दुर्ई वटा खाली चेक फुत्काउन भ्याए । सोही चेकमा रकमसहित श्रीमती बिमलाको नाम लेखे । उनकै योजना अनुसार बिमलाले चेक बैंकमा बाउन्स गराईन् । र ठगिएको भन्दै इन्द्रावतीका मालिक राजकुमार पौडेल र चुर्णबहादर बुढाथोकी विरुद्ध अदालतमा मुद्धा दिइन् । सोही मुद्धा हाल काठमाडौं जिल्ला अदालतमा बिचाराधिन छ ।
    सिआईबी प्रमुख सिंहले भने,‘रामहरी थापाबाट अन्य पनि बित्तिय अपराध भएको हामीले सूचना पाएका छौं । त्यस मध्ये कतिपय मुद्धा अदालतमा बिचाराधिन रहेछन् । त्यसमा हामीले बोल्न मिलेन । अरु केस हामी कहाँ आउने क्रममा छन् । अनुसन्धान जारी छ ।’
    १५ करोड ५० लाखको चेक भने गत १२ र १४ असारमा काटिएको हो । चेक जारी भएको सम्मान ट्रान्सपोर्टका मालिक रामहरीकै सालो अशोककुमार श्रेष्ठ हुन् । सुनौलो खिम्तीका साझेदार मध्येका नविन राउतले बन्द गरिएको खाताबाट थापाले उक्त चेक काटेको बताए ।
    उनले भने,‘साझेदार बन्ने बाहानामा कम्पनीमा प्रवेश गर्ने, गैरकानीनी ढंगले ठुलो रकम उल्लेखित चेक आफन्तका नाममा काट्ने, बाउन्स गराउने र साझेदारलाई धम्काई रकम असुल्ने रामहरीको योजना रहेछ । हामीले बिनाकारण यस अघि पनि दुःख पायौं । हालै १५ करोड ५० लाख रुपैयाँ उल्लेखित चेक काटेको थाहा पाएका छौं । हामी कानुनी उपचार खोज्दै छौं ।’