• काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना सङ्क्रमण नियन्त्रणमा सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको बताएका छन् ।केही दिनयता कोरोना सङ्क्रमण दर बढेको भन्दै उनले यस्तो जानकारी गराएका हुन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले आज बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यो जानकारी गराएका हुन् ।

    ‘पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणको दर निकै बढेको छ’, मन्त्री कार्कीले फेसबुकमा लेखेका छन्, ‘कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ ।’

    नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको र खोप अभियानलाई तीव्र बनाइएको उनको भनाइ छ । ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ’, मन्त्री कार्कीले भनेका छन्, ‘खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ ।’

    सञ्चारमन्त्री कार्कीले आम नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेका छन् । ‘म आम नागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन हार्दिक आग्रह गर्दछु’, उनले फेसबुकमा थप लेखेका छन् ।

    पछिल्लो साता मात्र देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ९ प्रतिशतले बढेपछि बिहीबारबाट लागू हुने गरी सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । सङ्क्रमणको जोखिम बढेसँगै शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।