काठमाडौं : कोरोना भाइरसको बढ्दो संक्रमणकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास बन्द गरिएको छ।
विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै अत्यावश्यक बाहेक स्वागत तथा बिदाईका लागि मात्रै विमानस्थल नआउन आग्रह गरेको छ ।
विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक विदाई र स्वागतका लागि विमानस्थल नआउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।
यसअघि पनि कार्यालयले स्वागत र विदाईमा विमानस्थलमा नआउन आह्वान गरिरहेको थियो। तर, मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि यस्तो आह्वान गरेको हो ।