• (रासस)
    धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण चन्द्रागिरि नगरपालिका–१ दहचोकमा इन्द्रजात्रा मेला प्रारम्भ भएको छ । वर्षा एवं सहकालका देवता इन्द्रको पूजा हुने जात्राका रुपमा लिइने इन्द्रजात्रा आइतबार साँझ दीप प्रज्ज्वलन गरी प्रारम्भ गरिएको भए पनि आज भाद्र शुल्क पूर्णीमाका दिन इन्द्रदह स्नान मेला लागेको छ ।

    हरेक वर्ष दहचोक मेलाका लागि आयोजक समिति गठन गरेर व्यवस्थापन गरिँदै आए पनि यस वर्ष कोरोनाका कारण भक्तजनको न्यून सहभागिता रहेको चन्द्रागिरि नगरपालिका–१ का वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिय। दहचोक १०० गन्तव्यस्थलभित्रको इन्द्रदह÷काजी कालु पाण्डे समाधिस्थल क्षेत्रमा परापूर्वकालदेखि भाद्र शुक्ल पूर्णिमाका दिन मनाइँदै आएको छ । इन्द्रजात्रा÷इन्द्र दह स्नान मेलामा कोरोना भाइरसको सङ्क्रमणका कारण भक्तजनको उपस्थिति न्यून रहेको उहाँले बताय।

    प्रत्येक वर्षको भाद्र शुक्ल पूर्णिमाको दिन इन्द्रदह स्नानका लागि भक्तजनको घुइँचो लाग्ने गर्छ । अहिले उक्त क्षेत्रमा विभिन्न भौतिक संरचना निर्माण गरिएको छ । करिब २०० रोपनीे क्षेत्रफलमा फैलिएको साँस्कृतिक महत्व बोकेको इन्द्रदह परिसरलाई पवित्र तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार, भ्यूटावर, बहुउद्देश्यीय भवनलगायत निर्माण गरिएको छ ।

    काठमाडौँको कलङ्कीदेखि पाँच किलोमिटर उत्तर पश्चिममा अवस्थित दहचोक प्राकृतिक सौन्दर्यका दृष्टिकोणले रमणीय र आकर्षकस्थल मानिन्छ । यहाँबाट काठमाडौँ उपत्यका एकसाथ अवलोकन गर्न सकिन्छ । सो क्षेत्रमा पौराणिक, ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेका स्थान थुप्रै छन् । दहचोकस्थित इन्द्रदह, मनकामना मन्दिर, कालु पाण्डेको सामाधीस्थल, ओडारलगायत पर्यटकीयस्थल प्रमुख आकर्षण मानिन्छन् ।

    दहचोकस्थित कालु पाण्डेको समाधिस्थल ऐतिहासिकतामा आधारित महत्वपूर्णस्थल हो । सो स्थल दहचोकको सबैभन्दा अग्लो भाग छ । पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गर्दा वीरगति प्राप्त गरेका कालु पाण्डेले मृत्यु पर्यन्त गोरखा देखिने स्थानमा आफ्नो टाउको राख्नु भन्ने इच्छा गरेअनुरुप उहाँको समाधि बनाइएको बताइन्छ ।
    दहचोकको इन्द्रदहमा स्नान गर्नाले जस्तोसुकै रोग पनि निको हुन्छ भन्ने जनविश्वास रहिआएको छ । सत्ययुगमा स्वर्गका राजा इन्द्र आएर सुनको मौलोमा हात्ती बाँधी इन्द्रदहमा स्नान गरेको जनविश्वास छ । दहचोक डाडाँबाट उत्तरतर्फ नील गिरि, धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, लाक्पादोर्जेलगायत हिमाल देखिन्छन् भने गोरखा, नुवाकोट, रसुवा, धादिङ र काठमाडाँै उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।