• काठमाडौं । सरकारले सुनकोसी–२ जलाशययुक्त जलविद्युत आयोजनाको काम अगाडि बढाउने प्रक्रिया लाई अगाडि बढाएको छ । विद्युत विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कको काम अगाडि बढाउन सूचना प्रकाशित गरेको छ । विभागले रामेछाप, सिन्धुली र काभ्रे जिल्लाको सीमाना भएर बग्ने सुनकोशी नदीमा निर्माण प्रस्ताव गरिएको ९ सय ७८ मेगावाट क्षमताको जलविधुत् आयोजना वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको छ ।

    विभागले प्रकाशित गरेको सूचना अनुसार रामेछाप नगरपालिका–५ मा ३९५ मिटर लामो र सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ को च्याकुटारमा १६८ मिटर लामो बाँध निर्माण गरिने छ । विभागले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा १.२ किलोमिटर लामो र १० मि. ब्यास भएको सुरुङ मार्गबाट सिन्धुलीको च्याकुटारमा बिद्युत गृहको प्रस्ताव गरिएको छ ।

    विभागका महानिर्देशक नविन सिंहले आयोजना प्रभावित गाउँपालिका र नगरपालिकामा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआए) अध्ययन प्रतिवेदन् तयारी अगाडि बढाएको बताएका छन् । नेपालको सन्दर्भमा जलाशययुक्त जलविद्युत आयोजनबाट ठूलो फाइदा लिन सकिने बताउदै सिंहले छिटो काम सम्पन्न गर्नतर्फ लागि परेको बताए । यो योजनाबाट रामेछाप नगरपालिका वडा नं ५, ७, ८ र ९ मन्थली नगरपालिकाको वडा नं १,२,३ र ४ र खाँडादेवी गाउँपालिकाको १,२,३ र ४ प्रभावित हुने छन् ।

    त्यस्तै काभ्रमेको तेमाल गापा–९ र सिन्धुलीको सुनकोशी गाउँपालिकाका अधिकांश वडा प्रभावित हुनेछन् । सुनकोसी जलविद्युत आयोजना निर्माण अगाडि बढेको अवस्थामा रामेछाप जिल्लाको जिल्ला सदरमुकाम मन्थली बजार क्षेत्र समेत डुबानमा पर्नेछ ।विद्युत विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कको सूचना जारी गर्दै रायुसुझावको मिति तय गरेको छ ।