• सुर्खेत, (कर्णाली प्रदेश, रासस) ।

    गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३र७४ देखि निर्माण थालिएका ती पुलहरू गत वर्ष सम्पन्न भएको जनाएको छ । कर्णाली राजमार्गका अधिकांश स्थानमा पक्की पुल नहुँदा यात्रुले लामो समयदेखि सास्ती भोग्नुपरेको थियो । पुल नहुँदा वर्षातको बेला यात्रुलाई जोखिम बढेको थियो । 

    सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले २०७४ साल जेठदेखि निर्माण थालिएका ती पुलहरुमध्ये तिलाखोलाबाहेक सबै पुलहरु २०७७ साल पुस मसान्तमै सम्पन्न भएको जानकारी दिए । तिलाखोला पुल २०७५ असारमा सम्झौता भई २०७८ जेठमा सम्पन्न भएको हो ।

    सडक डिभिजन कार्यालयका अनुसार कर्णाली राजमार्गमा कुवाखोला, कालेखोला, पाल्तडा, कानेगाड, गुहेगाड, दहीखोला, तिला खोला, छिडेना खोला, सिञ्जा, पातले खोला, लुम्चडी र माटेखोलामा पुल निर्माण पूरा भएका हुन् । रु ४२ करोड ४५ लाख ४९ हजार ४४४ लागतमा ती पुलहरु निर्माण भएको कार्यालयले जनाएको छ । इन्जिनीयर शर्माले पुल निर्माणका साथै अधिकांश स्थानमा राजमार्ग मर्मत सुधार गर्ने कार्य सम्पन्न भएको बताए । नाली खोल्नाका साथै भत्केको पर्खाल लगाउने, पहिरो पन्छाउनेजस्ता कार्य समयमै भएकाले यसपटकको वर्षातमा राजमार्ग अवरुद्ध नभएको उनको भनाइ छ । 

    सुविधासम्पन्न ‘रिफ्रेस सेन्टर’

    यातायात व्यवस्था विभागले मध्यपहाडी लोकमार्गअन्तर्गत दैलेखको साइँगाउँमा सुविधासम्पन्न रिफ्रेस सेन्टर निर्माण गरेको छ । रिफ्रेस सेन्टरमा महिला–पुरुष र अपाङ्गतामैत्री शौचालय, खानेपानी, खाजाघर, यात्रु प्रतीक्षालय, गार्डरुम, बाथरुम लगायतका संरचना निर्माण गरिएको छ । यातायात व्यवस्था विभागको रु तीन करोड ३५ लाख लागतमा मजदूर कन्स्ट्रक्सनले निर्माण जिम्मेवारी पाएको हो । विभागका साइड इन्जिनियर धिरजकुमार साहले मध्यपहाडी लोकमार्गमा ३०र३० मिटरको दूरीमा रिफ्रेस सेन्टर निर्माण गरिएको बताए । यातायात व्यवस्था विभागले लामो रुटमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न चालक र यात्रुका लागि रिफ्रेस सेन्टर सञ्चालनको अवधारणा ल्याएको हो ।