• म्याग्दी, (गण्डकी प्रदेश, रासस ।) म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ स्थित गलेश्वरपारिको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । पहिरो आएर पुरिने डरले यहाँका ३० घरपरिवार रातभर जाग्राम बस्न बाध्य भएका छन् । बस्तीमाथिको भिरालो पाखो लस्किएर बस्ती नजिक आइपुगेको छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापर्बाही गर्दा बस्ती नै पहिरोको जोखिममा परेको स्थानीयवासी बताउँछन् । गत वर्षदेखि सडक निर्माण थालिएको थियो । कमजोर र भिरालो जमीनमा जथाभावीर सडक बनाउँदा पहिरो चलेको स्थानीयवासी बताउँछन् । जेठको पहिलो सातादेखि नै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन् । विकासका नाममा निम्तिएको विनासका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन् ।

    सडक बनाउँदा पर्याप्त सावधानी नअपनाएका कारण बस्तीमाथि पहिरो खस्न थालेको स्थानीयवासी टककुमारी छन्त्यालले बताउनुभयो । कमजोर भूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षण र रोकथामको काम नगरेका कारण पूरै पाखो खस्न थालेको छन्त्यालको भनाइ छ । वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था आउन लागेको छन्त्यालले बताए । “वस्तीमाथिको पाखोबाट खसेको पहिरोले घर पुर्न लागेको छ । दुई महिनायता राति निदाउन पाएका छैनौँ, छन्त्यालले भने, “३५ वर्षदेखि बसेको थातथलो छोडेर कहाँ जाने ? हामीहरुलाई चिन्ता लागेको छ ।”

    गत वर्षदेखि बस्तीमाथिको जमीन चर्किएर पहिरो खस्न थालेको थियो । हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । यहाँका कतिपय बासिन्दा घर छोडेर हिँड्ने तर्खरमा रहेका र कतिले वल्लो गलेश्वर बजारमा भाडामा कोठा लिएर बसेका स्थानीयवासी तिलबहादुर पुनले बताए ।