• अरनिको राजमार्ग मर्मतको काममा लागेको सिसिआरसिई कम्पनीका २३ जना कामदारमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको अवस्थाका बारे आज भोटकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले चासो राखेका छन् ।

    साथै कम्पनीका प्रतिनिधिसग अध्यक्ष पौडेलले समन्वय र छलफल गरेर पोजेटिभ देखिएका मजदुरहरु क्वारेन्टीन बसेको समयको तलव भत्ता नकाट्न कम्पनीलाई अनुरोध गरेका थिए ।

    गाउँपालिका अध्यक्षको रोहवरमा तलव नकाटिने निर्णय भएको कम्पनीले जनाएको छ । यस्तो बेलामा तागतिलो खानेकुराको आवश्यक पर्ने भन्दै अध्यक्ष पौडेलले फलफुल पनि प्रदान गरेका छन् ।

    यहाँका ६३ जना मजदुरहरुलाई कोरोना परिक्षण गरिएको थियो । ती मध्ये २३ जनामा पोजेटिभ देखिएको हो । उनीहरुलाई अध्यक्षले खान बस्न र अन्य अवस्थाका बारे चासो राख्दै मास्क,सेनिटाईजर लगायतको सचेतनाका सामाग्री पनि प्रदान गरेका थिए ।