• कोरोना महामारीको दोस्रो लहर बढेसँगै दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि हुन थालेको छ । उपलब्धता र आपूर्ति सहजै भए पनि व्यापारीले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गरेको पाइएको छ ।
    बजारमा नियमन कमजोर भएको मौका छोपेका व्यापारीले मूल्य बृद्धिका लागि आपूर्ति र ढुवानी समस्याको वहाना गर्न थालेको उपभोक्ताको बुझाइ छ । महामारीको संकटका बेला व्यापारीले उपभोगका बस्तुमा मनपरी मूल्यबृद्धि गर्दा पनि नियमनतर्फ प्रशासन र स्थानीय सरकारको ध्यान नगएको उपभोक्ताको गुनासो छ ।

    १५ दिन अघिसम्म १४ सय २५ रुपैयाँ पर्ने २० किलो तौलको जिरामसिनो चामलमा धनकुटाका व्यापारीले एक सय १५ रुपैयाँसम्म बृद्धि गरेका छन् । दालमा प्रतिकिलो ४० र तेलमा पनि लिटरको ४५ रुपैयाँसम्म भाउ बढाइएको छ ।

    प्रतिबोरा १७ सय २५ रुपैयाँमा बिक्री हुँदै आएको ३० किलो तौलको जुनेली चामलको मूल्य ताप्लेजुङका व्यापारीले १९ सय रुपैयाँ पुर्‍याएका छन् । प्रतिकिलो एक सय ३५ रुपैयाँमा पाइने मुसुरी दालको १ सय ६० र ८० रुपैयाँमा पाइने चिनीको प्रतिकिलो ९५ रुपैयाँ लिन थालेका छन् । सूर्यमुखी तेलको लिटरमै ६० रुपैयाँ बढाइएको छ । हिमाली र पहाडी जिल्लाको तुलनामा ढुवानी र आपूर्ती सहज रहेको विराटनगरमा पनि सातादिनमै सबैजसो उपभोग्य बस्तुमा २५ प्रतिशतसम्म मूल्य बृद्धि भएको छ ।