• काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान बङ्गलादेश राजधानी ढाकामा पुगेकी छन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा पुगेकी उनलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरेका थिए ।

    राष्ट्रपति भण्डारीलाई विमानस्थलमा २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ दिइयो । राष्ट्रपति भण्डारीले त्यसपछि त्यहाँका राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी थिइन् । त्यहाँ उनले वृक्षरोपण पनि गरिन् । राष्ट्रपति भण्डारी हाल आवासका लागि प्रबन्ध गरिएको इन्टरकन्टिनेन्टल होटेलमा पुगेकी छन् ।

    राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नाका साथै द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनेछिन् । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग आजै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।