• काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी चैत ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आजको बैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवको निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

    बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उनी विसं २०७० को संविधानसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । यादवको ७५ वर्षका उमेरमा गत माघ १ गते निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते अपराह्न १ बजे बस्ने जनाइएको छ ।