• कार्यरत कर्मचारीको आन्तरिक मारमा मध्यभोटेकोशी जलबिद्युत आयोजना परेको छ । सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको बाँध निर्माण गरेको एक वर्ष नपुग्दै भत्किन थालेको छ । गत चैत–वैशाख महिनामा निर्माण गरिएको बाँध संरचनाको ठाउँठाउँमा क्षति भएको छ भने ढलानभित्र राखिएका फलामका रड बाहिर निस्केका छन् ।
    जलविद्युत् आयोजना काम निर्धारित समयभन्दा चार वर्ष ढिला भइसकेको छ । बाँधमा देखिएको त्रुटी र निर्माण कार्यले गति नलिदा प्रभावित क्षेत्रका स्थानीय निराश छन् । भोटेकोशीको पानीलाई डाइभर्सन टनेलबाट अर्को बाटो पठाउँदा स्पिल–वे भत्किएको छ । बाँध निर्माणका क्रममा गुणस्तरहीन र कम परिमाणमा सामग्री प्रयोग भएकै कारण समस्या आएको प्रविधिक बताउँछन् ।
    तत्कालिन आयोजना प्रमुख सुनिलकुमार लामाले संरचनाको गुणस्तर कमजोर भएको लिखित विवरण भोटेकोशी कम्पनीलाई दिएपनि बेवास्ता गरिएको बताइएको छ । काम चुस्तदुरुस्त हुनपर्ने शर्त राखेकै कारण लामालाई जिम्मेवारीबाट हटाइएको रहस्य खुलेको छ । प्रभावित क्षेत्रका स्थानीय तहले गुणस्तरहीन काम गर्ने कम्पनीलाई कारबाहीको माग गरेका छन् । चिनियाँ निर्माण कम्पनी ग्वान्सिङ हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोले सन् २०१४ अप्रिलमा सिभिल र हाइड्रोमेकानिकल निर्माणको जिम्मेवारी पाएको थियो । १२ अर्ब २८ करोड अनुमान गरिएको आयोजनाको लागत बढेर १५ अर्ब पुगेको छ । निर्माण कार्य सुरु भएको सात वर्षसम्म ६० प्रतिशत मात्र काम सकिएको छ । सामान्य बहावले बाधाले स्पिल–वेको संरचना भत्किनुले गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ ।
    मध्यभोटेकोशी जलविद्युत आयोजनाको चाइनिज ठेकेदारले निर्माण गर्दै गरेको ड्यामको खियाई प्रतिरोधी ढलान हो । कमसल सामानको प्रयोग गरि निर्माण गरिएको चाकुको बाँधको ढलान पचासौँ बर्ष टिक्नु पर्नेमा पहिलो बर्षमा नै यसरी खियाएको छ । भोटेकोसीको तीब्र बेग धान्न पर्ने ठाउँमा कति कमजोर संरचना बनिरहेको छ । यस्तो कमजोर ड्याम निर्माण गरिरहँदा कुनै पनि बेला फुट्न सक्छ । भोलि फुट्यो भने चाकु भन्दा तल भोटेकोशी नदी आसपासमा रहेको जम्बु, बाह्रबिसे, लामोसाघु, खाडिचौर, अँधेरी, कोठे, बलेफी लगायत बजार सकिन्छ । जनधनको क्षती हुन्छ । यस बारे सबैले चासो र चिन्ता गर्नै पर्ने र आवाज उठाउनै पर्ने बेला आएको छ ।
    आयोजनाको कर्मचारी रातारात करोडपति हुने र हामी प्रभावितको लगानी पनि डुब्ने र भोलिको बिपत्तिको सामना पनि गर्न पर्ने देखिन्छ । कमिसनको खेलमा कमजोर संरचना निर्माण गर्ने जो कोहि होस्, कारबाहिको भागिदार किन नबनाउने ? कमसल काम गर्ने गराउने र बिल पास गर्ने सम्बन्धमा चाइनिज ठेकेदार र आयोजनाका प्रमुख मणि काफ्ले, अनि कन्सल्ट्यानका दिनेश भण्डारीसँग ठेकेदारको दोभासे गोबिन्द पौड्यालबीच भएको दुई करोडको घुसको बार्गेनिङ अडियो टेप प्रकरण (अडियो रेकर्ड अनुसार काफ्ले र भण्डारीले बिल मिलाईदिए बापत पटक पटक पैसा लिएको खुल्छ) सार्बजनिक हँुदासम्म सरोकार समिति अध्यक्ष निमफुन्जो शेर्पा बाहेक अरु कुनै पनि दलका नेता लगायत नियमनकारी निकायहरु सब चुपचाप छन् । आयोजनालाई सम्पन्न गर्ने जिम्मा के सरोकार समितिका संयोजक लाई मात्रै परेको हो र ?
    कारबाही गरि जेल कोच्नु पर्नेमा बोर्डकै खेलमा आयोजनाको मणि काफ्लेलाई राजिनामा गराएर ससम्मान बिदाई गरिएको छ । आयोजनाको बोर्ड ले त यो घुस टेप प्रकरण बाहिर ल्याउने आयोजना प्रमुख सुनिलकुमार लामालाई पौष मसान्तदेखि करार सम्झौता नथप्ने भनेर चिट्ठी थमाएको छ । यो सँगै आयोजना प्रमुखलाई ब्यबस्थापनको तीन आरोप छ ।
    १, स्थानीयलाई समर्थन गरेको
    २, स्थानीय सरकार र सरोकार समितिसँग सहकार्य गरेको
    ३, आन्तरिक कुरा बाहिर ल्याएको (घुस खान्न र खान पनि दिन्न भनेर २ करोडको बार्गेनिङ अडियो टेप सार्बजनिक गरेको )
    सुनिलकुमार लामालाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा आयोजना बाटै निकाल्दै गर्दा प्रष्ट हुन सकिन्छ कि आयोजनाको ब्यबस्थापन टिम नै यो घुस प्रकरणलाई सामसुम पार्ने योजनामा देखिन्छ । दालमे कुच काला हे, लामालाई एक्ल्याईएको छ, मानौँ कि घुस खान नदिएर, अडियो टेप सार्बजानिक गरेर ठूलो अपराध गरे । यस आयोजनामा उनी मात्रै एक कर्मचारी हुन जो सधै स्थानीयको पक्षमा लड्दै समयमा नै आयोजना सक्काउन पर्छ भनेर लागि रहने तर यहि धारणा नै उनका लागि अभिशाप बन्यो ।
    उता आयोजनाका घुसिया कर्मचारी र इन्जिनियरहरुको अनुहार उज्यालो चम्किलो छ । जो सेटिङमा ठेकेदार संग पैसा लिन्छन भन्ने तथ्य बाहिरियो तिनै कर्मचारीहरु आयोजना प्रमुख हुन जोडतोडका साथ लागिरहेको हामी देख्न सक्छौं । यहाँ चोरलाई चाबी र चौतारो अनि साधुलाई सुलि हुने निश्चित देखिन्छ ।
    यति भईरहँदा प्रत्यक्ष शेयर लगानी भएको सिन्धुपाल्चोकको स्थानीय कम्पनीहरु अरनिको हाइड्रो, सिन्धु इन्भेस्टमेन्ट लगायतका, शेयरवाला जगाधनीहरु के हेरेर बसेको छ ? के यति सम्मको आचाक्ली बदमासी हुदा पनि चुईक्क नबोल्ने ? यदि बोल्नु भएन भने दुनियाँले अनुमान लगाउने छन कि सिईयो मणि काफ्ले, कन्सल्ट्याङका दिनेश भण्डारीहरु जस्तै तपाईं हरु पनि मोटाउनु भएको छ । पाँच लाखको उपभोक्ता समितिको काममा आँखा पुग्ने साथीहरुको आँखा देशकै गौरबको आयोजनामा यो अरबौँको घोटालामा किन चुईक्क बोली छैन ? बहुत ताजुब लागेर आउँछ ।
    यो सिन्धुबासीको ठूलो लगानी रहेको प्रोजेक्ट हो । यस्ता कमसल कामहरुको रिजल्ट आज भोलि नै नदेखे पनि ढिलो चाडो चाडै देखिन्छ नै । अनि प्रोजेक्टले कमाउने ठाउमा सबै पैसा मर्मतमा नै जादा जनताको हातमा के पर्ला ? उठौँन जागौँन हो अब त । अति मात्रै होईन अत्याचार नै भईसक्यो ।
    रेशम प्रधानबाट