• काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही साउन २३ गतेको बैठकले सर्वसम्मतिले अनुुमोदन गरेका थिए ।

    विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिमा दिलकुमारी रावल सभापतिमा निर्विरोध भएका छन् ।

    राष्ट्रियसभाका विषयगत समितिका सभापतिको चयन प्रत्येक दुईदुई वर्षमा हुने व्यवस्था छ । निर्वाचित सभापतिमध्ये नेकपाका दुई र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका एक जना छन् । पुनःनिर्वाचित सभापति बिडारी भने राष्ट्रपतिबाट मनोनीत सांसद हुन् ।