• काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलका क्रममा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएको भन्दै करिब दुई साता लकडाउन गर्न उपयुक्त हुने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन् ।

    अहिलेको जसरी कोरोना संक्रमण दर बढ्दै गएमा स्थिति भयावह हुनेमा विज्ञहरुले बैठकमा प्रधानमन्त्रीलाई सुझाएका थिए । विज्ञहरुले यस्तो सुझाव दिएपछि प्रधानमन्त्री ओलीले आफु सकरात्मक रहेको र छिट्टै टुंगोमा पुग्ने जानकारी दिएका थिए ।

    त्यस अवसरमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रण गर्न सरकारको प्रयासले मात्र सम्भव छैन । जनतामा चेतना जति बढाउन सकिन्छ, कोरोनाविरुद्धको लडाइँ जित्न त्यति सजिलो हुन्छ भनेका थिए । उनले महामारी सबैको साझा चुनौती भएकाले त्यसलाई मिलेर समाधान गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणमा सरकारको प्रयासले मात्र सफलता प्राप्त नहुने भन्दै जनतामा चेतना जगाउन सकिएमा यसविरुद्धको लडाइँमा छिटो सफलता मिल्ने विश्वास व्यक्त गरेका थिए ।

    त्यसैगरी कांग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ संकट व्यवस्थापन रोकथाम तथा नियन्त्रणका सम्बन्धमा ७ बुँदे सुझाव र माग पेश गरेका थिए । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले कोरोना संक्रमणको दरलाई मध्यनजर गर्दै सरकारले बढीभन्दा बढी परिक्षण गर्नु पर्ने बताएका थिए ।

    केहीसमय अघिदेखि नै स्वास्थ्य मन्त्रालयले भने केही समय लकडाउन गर्न उपयुक्त हुने सिसिएमसी समक्ष प्रस्ताव पेश गरिसकेको छ ।