• काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयअन्तर्गतका सार्वजनिक निकायका प्रमुखसँग आज भएको कार्यसम्पादन सम्झौतापछि आयोजित समारोहमा गृहमन्त्री थापाले सम्झौताअनुसारको नतिजा निकाल्ने विषयमा कुनै पनि कसर बाँकी नराख्न सम्बद्ध अधिकारीलाई निर्देशन दिएका हुन् ।

    ‘राष्ट्र र जनताप्रति निष्ठावान हुने छौँ’ भनेर सम्झौतापत्रमा हस्ताक्षर गरी दृढ प्रतिबद्धता जाहेर गरेकामा धन्यवाद दिँदै गृहमन्त्री थापाले राष्ट्रको विकास, समृद्धि र सुरक्षाको मुख्य जिम्मेवारी सार्वजनिक निकायको हो भने ।

    विश्वमा समृद्धिको उचाइ छुने मुलुकको अध्ययन गर्दा पनि मुलुकको समृद्धिका लागि सार्वजनिक प्रशासनको मुख्य हात रहेको उनले बताए । “सार्वजनिक प्रशासन राष्ट्र र जनताप्रति प्रतिबद्ध भए मात्रै मुलुकले प्रगति गर्नसक्छ, जनतालाई सुरक्षा दिन सक्छ र त्यही मुलुकमा मात्रै राष्ट्रिय अखण्डता स्वाधीनता र नागरिकको सुरक्षा प्रबल छ”, गृहमन्त्री थापाले भने, “समृद्धि हासिल गर्न पनि त्यसले ठूलो भूमिका खेल्छ ।”

    उनले सम्झौताप्रति हस्ताक्षर गर्नु भनेको राष्ट्रको विकास, समृद्धि, नागरिकको सुरक्षा तथा सेवा प्रवाहमा निष्ठावान र प्रतिबद्धताको सपथ ग्रहण हो भने । मन्त्री थापाले अझै पनि प्रशासनिक संयन्त्रलाई सक्षम र सबल बनाउन जरुरी रहेको औँल्याएका छन् ।

    “जसले राम्रो काम गर्छ, जसले राम्रो नतिजा दिन्छ, त्यसलाई पुरस्कृत गर्ने र राम्रो नतिजा दिन नसक्नेलाई दण्डित गर्ने प्रणाली स्थापित गर्न नसक्ने हो भने राज्यले लिएको मूल लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन सकिँदैन”, उनले भने । उक्त लक्ष्य हासिल गर्न मुलुकले विगत केही वर्षदेखि नयाँ प्रक्रिया, विधि र तरिका अपनाई कार्यसम्पादन सम्झौता गर्दै आएको उनले जानकारी दिए । सरकारले विगत केही वर्षदेखि यस्तै प्रतिबद्धता गर्दै आएको छ । यस वर्ष गृह मन्त्रालयले निर्धारण गरेको लक्ष्यमा शतप्रतिशत परिणाम हासिल गर्न उनले आग्रह गरे । गृहमन्त्री थापाले कामलाई परिणाममुखी बनाउन प्रशासन कार्यालय तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।