• काठमाडौं उपत्यकामा केहि दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गैरहेको छ । उपत्यकामा पछिल्लो ४ दिनयता मात्रै एक सय ११ जना नयाँ संक्रमित थपिएका छन । यसले पनि संक्रमितहरुको संख्या ह्वात्तै बढेको देखाउँछ । यहाँको ढलको पानीमा समेत कोरोना पोजेटिभ देखिएको छ । उपत्यकाका अस्पतालहरुमा मात्रै करिब दुई सय ४१ जनाले उपचार गराइरहेका छन । काठमाडौंमा पहिलो पटक माघ ९ गते चीनबाट आएका एक युवामा कोरोना भाइरसको प्रकोप देखिएको थियो । त्यस्को २ महिनापछि अर्थात चैतदेखि संक्रमितहरुको संख्या बढ्दै गएको हो । विशेषगरी भारतबाट फर्केका र तिनको संगतमा भएकाहरुमा बढी देखिएको संक्रमण केही दिनयता काठमाडौं उपत्यकामा पनि बढ्दै गएको छ ।

    काठमाडौं उपत्यकामा संक्रमण देखिएका मध्ये ५३ जना डिस्चार्ज भैसकेका छन भने २ सय ४१ जना उपचार गराइरहेका छन् । एक जनाको मृत्यु भएको छ । तर दैनिक संक्रमित देखापर्नुले थप जोखिम निम्त्याएको चिकित्सकहरु बताउँछन । अझ धेरैको परीक्षण नभएकाले स्थिति देखिएभन्दा डरलाग्दो हुनसक्ने अनुमान छ । जनघनत्व बढि तर सावधानी कम भएकोले पनि उपत्यकामा संक्रमण फैलिने जोखिम बढि हुन्छ । बिरामीको चाप हुने अस्पतालहरुबाट संक्रमण घरघरमा पुग्ने खतरा पनि उत्तिकै छ ।
    काठमाडौंमा संक्रमण दैनिक रुपमा बढ्दै जाँदा मानिसहरु भने निष्फ्रिक्री हिडिरहेका छन् । अझ सार्वजनिक यातायात सञ्चालन हुने भएपछि जोखिम झन बढ्ता छ । जनघनत्व र आवतजावत बढी भएकोले होसियारी नअपनाए काठमाडौंमा संक्रमण छिटो फैलिने खतरा उत्तिकै छ।