

-
म्याग्दी । दिनहुँजसो परिरहेको बर्सातसँगै पाखोबाट पहिरो खस्न थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती खतरामा परेको छ । राहुघाट सल्लेरी वनको पाखोबाट पहिरो खस्न थालेपछि जोखिममा परेको हो । सोमबार दिउँसोदेखि पहिरो खस्न थालेपछि राहुघाटका बासिन्दाले सामान सुरक्षित स्थानमा सार्न थालेको स्थानीयवासी लक्ष्मण चालिसेले बताए ।
उनका अनुसार पाखोबाट खसेको पहिरो सिधै बस्तीमा पुग्ने भएकाले ज्यान जोगाउन तीन घरले सामान सारिसकेका र अरु पनि सर्ने तयारीमा छन् । राहुघाटमा करिब ३० घरपरिवारका १०० जनाको बसोबास छ । स्थानीयवासीका अनुसार करिब ६० मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको पाखोले ठाउँ छाडेर पाँच मिटर तल खसेको छ ।
सडक विस्तारका क्रममा डोजरले खनेको ठाउँमा टेवा पर्खाल नलगाएका कारण पाखो खसेर पहिरो जान लागेको राहुघाटका तमबहादुर छन्त्यालले बताए । पहिरो खसेको ठाउँभन्दा माथि दुई मूल फुटेर पानी बगिरहेको छ ।
कमजोर भू–धरातल भएको पाखोमा डोजर चालकले आफ्नै ढङ्गले खनेको सडक भूगोल नबुझिकन अहिले विस्तार गर्दा पहिरोको जोखिम बढेको छन्त्यालले बताए । पूर्वाधार विकास कार्यालय म्याग्दीले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत गत वर्षदेखि राहुघाटबाट पिप्ले–भगवती–बेगखोला जोड्ने सडक स्तरोन्नति शुरु गरेको थियो ।
सोही सडक भत्किएर गएको पहिरोले राहुघाटस्थित भरत मल्ल र बमबहादुर पुनलगायतको खेतबारी पुरिएको छ । मल्लको करिब १०० बाख्रा र ८०० कुखुरा भएको कृषिफार्म पहिरोको जोखिममा परेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, जिसस प्रमुख देवेन्द्र केसीसहित सुरक्षा अधिकारीको टोलीले पहिरोको स्थलगत निरीक्षण गरेका थिए ।
स्थानीयवासीलाई घरका महत्वपूर्ण सामान सुरक्षित ठाउँमा सार्न र रातको समयमा त्यहाँ नबस्न आग्रह गरिएको छ । “महत्वपूर्ण सामग्री, कागजात र गरगहना झोलामा ‘स्ट्यान्डबाई’ राखेर जुनसुकै बेला भाग्न सक्ने अवस्थामा रहन आग्रह गरेका छौँ”, प्रजिअ ढकालले भने, “प्रहरीमार्फत सतर्कता अपनाउन सूचित गरेका छौँ ।”
पहिरोको जोखिममा रहेकालाई रातको समयमा राहुघाट पारी गलेश्वरको धर्मशालामा बस्ने व्यवस्था मिलाइएको छ । पहिरोका कारण बेनी–जोमसोम र राहुघाट–पिप्ले–भगवती–बेग सडक जोखिममा परेको छ । राहुघाट हुँदै पिप्ले र गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक अवरुद्ध भएको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जीनियर ओमराज ढुङ्गानाले सडक विस्तारका क्रममा सावधानी अपनाइएको भन्दै सडकका कारणले मात्र पहिरो नगएको तर्क गरे । नजिकै निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको सुरुङ खन्दा हुने विस्फोटको कम्पन र सुरुङबाट निस्कने पानी सडकमा फालिएका कारण पहिरोको जोखिम बढेको उनले बताए । कार्यालयका प्राविधिकहरुको टोलीले समेत पहिरोको निरीक्षण गरेको थियो । थप क्षति हुन नदिन सडकबाट बगिरहेको भललाई व्यवस्थापन गरिएको ढुङ्गानाले बताए ।
News Desk 0 response मङ्लबार, असार १६, २०७७

सम्बन्धित शीर्षकहरु
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
शुक्रबार, पुस २५, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२



