• काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले राष्ट्रियताको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार गरेको निर्णय सकारात्मक रहेको बताएका छन् । उनीहरुले राष्ट्रिय मुद्दामा दलीय एकता आवश्यक रहेको र दलगत स्वार्थभन्दा माथि उठेर व्यवहार प्रदर्शन भएकामा सन्तोष व्यक्त गर्दै कोरोना भाइरसको सङ्क्रमणविरुद्ध लड्नसमेत आमसहमतिमा जोड दिए ।

    शनिबार बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको थियो । काँग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका भूभाग भएको र तिनमा निर्वाधरूपले नेपालको हक स्थापित हुनुपर्ने अडान दोहोर्‍याएको छ ।

    बैठकमा सांसद विनाकुमारी श्रेष्ठले राष्ट्रियताको पक्षमा उभिने काँग्रेसको निर्णय सकारात्मक रहेको र यस विषयमा संसद्मा रहेका दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएकी थिइन् । सांसद हरि अधिकारीले राष्ट्रिय विषयमा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थका साथ एकै स्थानमा उभिने निर्णय आफँैमा महत्वपूर्ण रहेको बताए ।

    सांसद विरोध खतिवडाले राष्ट्रियता एकता प्रदर्शन भएकामा प्रतिपक्षी दललाई धन्यवाद दिँदै कूटनीतिक पहलमार्फत सीमा विवाद समाधान गरिनुपर्ने बताए । उनले कालापानी–लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा भारतले एकतर्फीरूपमा सडक निर्माण गरी उद्घाटनसमेत भएको र त्यहाँ सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने तयारी गरिएको भन्ने जानकारी आएकाले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराए ।

    सांसद शान्तिमाया तामाङ पाख्रिनले राष्ट्रियताप्रति काँग्रेसको समर्थन सराहनीय रहेको हुँदा आगामी दिनमा अन्य राष्ट्रिय हितका सवालमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन् । सांसद सुरेन्द्रकुमार कार्कीले भारतमा रहेका नेपाली विभिन्न नाकाबाट फर्किने क्रम बढिरहेकाले उनीहरुलाई नाकाबाट व्यवस्थितरूपमा आ–आफ्नो गाउँ तथा थातथलोमा पुर्‍याउन माग गरेका थिए ।

    त्यसैगरी सांसद शान्ता चौधरीले प्रेमकै कारण मृत्युसम्म पुगेको रुकुम घटना अपराधजन्य चर्चा गर्दै दोषीलाई कारवाही गर्न माग गरिन् । सांसद सत्यनारायण शर्मा खनालले कोरोना महामारी नियन्त्रणका लागि परीक्षणको दायरा बढाई सम्बन्धित क्षेत्रमा स्वास्थ्य सामग्रीको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

    सांसद सत्या पहाडीले रुकुम घटना मानवजतिकै कुरुप घटना भएको बताउँदै बेपत्ताको खोजी गरी दोषीलाई कडा कारवाही गर्न तथा पीडित पक्षलाई राहत उपलब्ध गराउन माग गरिन् । सांसद सुदन किराँतीले पूर्वका भोजपुरलगायत पहाडी जिल्लामा कोभिड–१९ को परीक्षण दायरा बढाई स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सङ्घीय सरकारसमक्ष माग गरेका थिए ।