• काठमाडौँ । सरकारले कारोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई थपगरी जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय यही जेठ २० राति १२ बजे सकिँदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले ‘लकडाउन’ लम्बाउने निर्णय गरेको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन् । बैठकले अन्तरराष्ट्रिय सीमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ ।

    सरकारका प्रवक्ता डा खतिवडाका अनुसार सीमा क्षेत्रमा आवागमन स्थगन गर्दै गर्दा त्यहाँबाट आउने जाने कुरालाई अलि कडाइ गरिने र सीमा वारिपारि गर्ने विषयमा विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार जाँच गरेर मात्रै लाने वा लैजाने कुरा पालना गर्नगराउनका लागि छिमेकी मुलुकसँग सहकार्य गर्ने निर्णय भएको छ । लकडाउन अवधिमा यसको ढाँचाबारे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्ने मन्त्री डा खतिवडाको भनाइ छ ।