• काठमाडौँ । बन्दाबन्दीले उपत्यकाको सभ्यताको स्रोत वाग्मतीमा हिउँदमा पनि स्वच्छ पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा निर्माण शुरु गरिएको बाँधको काम प्रभावित भएको छ । धाप बाँधको भौतिक प्रगति ७६ प्रतिशत सम्पन्न भए पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैतदेखि नै काम बन्द भएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । बाँधमा काम गर्ने भारतीय मिस्त्री बन्दाबन्दीमा घर गएपछि नफर्किएका कारण काम हुन नसकेको समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकालले जानकारी दिए ।

    नेपाली मिस्त्रीले गर्न नसक्ने प्राविधिक काम भएकाले बन्दाबन्दीमा घर गएका कामदारका कारण प्रभावित भएको हो । धापमा बाँधको काम असार दोस्रो सातासम्म मात्र गर्न सकिन्छ । असार दोस्रो सातापछि वर्षात्का कारण काम गर्न सकिँदैन । कात्तिकपछि मात्र फेरि धाप बाँधको काम गर्न सकिन्छ । आयोजनाको हालसम्म ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।

    एशियाली विकास बैंकको करिब ५१ करोड ऋण सहयोगमा निर्माण भइरहेको बाँध गत वैशाखमै सक्ने लक्ष्य भए पनि बन्दाबन्दीका कारण अलपत्र बनेको हो । चौबीस मिटर उचाइको बाँधमा वर्षात्मा परेको पानी जम्मा गर्ने योजना छ । गत वैशाखमै निर्माण सम्पन्न गरी आगामी वर्षात्मै बाँधमा पानी सङ्कलन शुरु गरी परीक्षण गर्ने योजना प्रभावित भएको छ । योजना प्रभावित हुँदा बाँधमा वर्षात्को पानी जम्मा गर्न एक वर्ष कुनुपर्ने भएको अधिकारसम्पन्न वाग्मती समिति सञ्चालक सदस्य राम साहले बताए ।

    गोकर्णेश्वर नगरपालिका–१ स्थित धापमा बनिरहेको बाँधमा आकाशेपानी जम्मा गरी प्रतिसेकेण्ड ४० लिटर पानी वाग्मतीमा बगाइने योजना छ । बाँधमा आठ लाख ५० हजार क्युविक लिटर पानी अटाउँछ । बाँध भरिन चार वर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । बाँध निर्माण सिँचाइ विभागको ठेक्कामा गुञ्जाउ–लामा–रमण जेभीले गरिरहेको छ । निर्माण कम्पनीका इञ्जीनियर रुपेशकुमार साह निकुञ्जभित्र गर्नुपर्ने काम भएकाले शुरुमा केही ढिलाइ भएको र अहिले फेरि बन्दाबन्दीले काम रोकिएको बताउँछन् । रासस