• काठमाडौँ । भारतले पटक–पटक नेपालको सीमा अतिक्रमण गरी दुःख दिएको र नेपालको सावैभौमसत्तामाथि नै प्रश्न खडा हुने गरी गतिविधि गरेको भन्दै सांसदहरुले तत्काल दुई देशबीचको सीमा व्यवस्थापन गर्ने गरी तारबार लगाउन माग गरेका छन् ।

    कोरोनाको सङ्क्रमण फैलन नदिन लकडाउन जारी रहेको बेला पछिल्लोपटक नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेको र नेपालको अस्मितामाथि नै हमला गरेकाले सीमा क्षेत्रमा तत्काल तारबार गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सीमा अतिक्रमणविरुद्ध सरकारले कूटनीतिक पहल गर्नुपर्ने र आफ्नो भूमि एक इन्च पनि नछाड्ने गरी प्रक्रिया अगाडि बढाउन सांसदले माग गरेका छन् ।

    केही सांसदले त सीमा क्षेत्रमा तारबार लगाउने निर्णय भएको खण्डमा आफूले पाउने पारिश्रमिक समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए । भारतले पछिल्लोपटक यही वैशाख २६ गते नेपाली भूमि अतिक्रमण गरी निर्माण भएको धार्चुला हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेको हो । भारतको उक्त कमदका विरुद्ध नेपाल सरकारले भारत सरकारलाई राजदूतमार्फत कूटनीतिक नोटसमेत उपलब्ध गराइसकेको छ ।