• काठमाडौँ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि छैटौँपटक ११ दिन थप गरेको छ । मुलुकमा कोरोना संक्रमणका घटना बढ्दै गएको भन्दै सरकारले हाल कायम लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको छ ।

    भाइरस न्यूनीकरण तथा रोकथामका लागि सरकारले जारी लकडाउन लम्ब्याएर जेठ ५ गतेसम्मका लागि जारी राख्ने निर्णय गरेको छ । यसअघि घोषित लकडाउन २५ वैशाखमा समाप्त हुँदै थियो ।

    नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ भने तीमध्ये २२ जना निको भएका छन् । मुलुकमा कोरोना संक्रमणका घटना बढ्दै गएपछि सरकारले पुनः लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पछिल्लो समय नेपालगन्जमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भेटिएपछि लकडाउन थप गर्ने निर्णयमा सरकार पुगेको छ ।

    यसअघि मंगलबार कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले पनि लकडाउन तत्काल खुकुलो पार्न नसकिने र अवधि पुनः थप्नुपर्ने निष्कर्ष सहित सरकारलाई प्रस्ताव गरेको थियो ।