

-
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम हुन नदिन सामाजिक दूरी कायम गर्न र हात धुन महत्वपूर्ण मानिन्छ । हात हुन स्वच्छ पानी उपलब्ध हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पर्याप्त स्वच्छ पानीको उपलब्धता सुनिश्चित हुनुपर्नेमा स्मार्ट सोलुसन प्रालिले आयोजना गरेको भिडियो सम्मेलनमा सहभागी विज्ञहरुले जोड दिएका हुन् । कोरोनासँगै गर्मीयाममा फैलने रोगको रोकथाम र नियन्त्रणमा पनि उत्तिकै तयारी गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।
सम्मेलनमा पूर्वसचिव इञ्जिनीयर सुमन शर्माले कोरोनाको नियन्त्रण, रोकथाम र उपचार अहिले चुनौती बनेकाले रोग लाग्न नदिन स्वच्छ पानीको आपूर्तिमा ध्यान दिनुपर्ने बताए । काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सुवोध शर्माले क्वारेन्टाइनमा बस्नेहरुका लागि पर्याप्त गुणस्तरीय पानी उपलब्ध गराउनुपर्ने बताए । कोरोना भाइरसबाट बच्न सफा पानी र साबुन वा स्यानिटाइजरले हात धुनुपर्ने सन्देश पुगेको भए पनि सरकारले पानी नै पुर्याउन नसकेको उदाहरण दिँदै उहाँले टोलटोलमा राखिएका ट्याङ्की रित्ता भएको बताएका छन् ।
क्वारेन्टाइनमा पर्याप्त सङ्ख्यामा ट्वाइलेट, साबुन र पानीको व्यवस्था नभएकामा सरोकार भएका निकायको पूर्वसचिव शर्माले ध्यानाकर्षण गराए । “अल्कोहल भएको स्यानिटाइजरले हात धुनुपर्छ भनेपछि धेरै उत्पादकले बजारमा स्यानिटाइजर ल्याए, जसलाई इथाइल र मिथाइलबीचको फरक नै थाहा रहेनछ, कोरोनाको भाइरसलाई ६० देखि ९० प्रतिशत इथाइल अल्कोहल मिसिएको स्यानिटाइजरले निसङ्क्रमित गर्न सक्छ, त्यसमा आइसोप्रोपाइल मिसाउँदा अझ प्रभावकारी हुन्छ, तर बजारमा फरक किसिमका स्यानिटाइजर आए, त्यसमा हामीले निगरानी गर्न सकेनौँ”, उनले भने ।
खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुनिलकुमार दासले कोरोना भाइरसलाई साबुन वा स्यानिटाइजर पानीले हात धोएर निस्कृय पार्न सकिने भएकाले यसको नियन्त्रणमा खानेपानी र सरसफाइको क्षेत्रमा कार्यरत जनशक्तिको महत्वपूर्ण भूमिका देखिएको बताए । आम जनतालाई गुणस्तरीय पानी उपलब्ध गराउन काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, लिमिटेड एवं विभागले आयोजना हस्तान्तरण गरेका उपभोक्ता समितिको महत्वपूर्ण भूमिका हुने उनले बताए । नागरिकलाई स्वच्छ र पर्याप्त पानी उपलब्ध गराउन स्थानीय तहलाई सक्षम बनाउन आवश्यक रहेको महानिर्देशक दासको भनाइ थियो ।
आयोजक संस्थाका अध्यक्ष इञ्जिनीयर रामदीप साहले स्वास्थ्य र सरसफाइका लागि स्वच्छ पानी आवश्यक भएकाले पानी आपूर्तिका लागि धारा काटिएको भए जोड्नपर्ने, विपन्न परिवारका लागि पर्याप्त पानी आउने सार्वजनिक धाराको बन्दोबस्त हुनुपर्ने, पानीको महसुल घटाउनुपर्ने, स्वास्थ्योपचारबाट निस्कने फोहरमैलाको सुरक्षित तवरले बन्दोबस्त गर्नुपर्ने सुझाव दिएका छन् ।
पर्याप्त सुरक्षित पानीको आपूर्तिका लागि वित्तीय व्यवस्था गर्न अर्थ मन्त्रालयसँग समन्वय गर्न र पानी आपूर्तिको व्यवस्था मिलाउन खानेपानी मन्त्रालयले नेतृत्व लिनुपर्ने उनको भनाइ थियो । वाटर एडका अनिल थमनले रोगको सङ्क्रमणबाट बच्न स्वचालित हात धुने केन्द्र सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । ललितपुर महानगरपालिकाबाट यसको शुभारम्भ हुने उल्लेख गर्दै निकट भविष्यमा नै ७५ स्थानमा यसको स्थापना गरी आवश्यकताअनुसार विस्तार गरिने पनि उनले बताए ।
पूर्वमन्त्री दीपक ज्ञवालीले मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको पानीको उपलब्धता र आपूर्तिका सम्बन्धमा नीति निर्माता र सरोकारवालाको बीचमा सार्वजनिक बहस गर्ने मञ्चको अभाव खड्किएको बताए । पूर्वविज्ञान, प्रविधि तथा वातावरणमन्त्री इञ्जिनीयर गणेश साहले सञ्चालन गरेको कार्यक्रममा खानेपानी तथा सरसफाइको क्षेत्रका प्राध्यापक, अनुसन्धानकर्ता, नीति निर्माता, सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्तित्वको सहभागिता थियो । राजधानीलगायत प्रमुख शहरमा मात्र नभई धेरै गाउँमा समेत खानेपानीकै अभाव रहेकाले हात धुने पानी जुटाउनु चुनौतीपूर्ण बनेकाले सरोकार भएका निकायले ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
News Desk 0 response आइतवार, बैशाख ७, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२