• काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ सङ्क्रमित व्यक्ति नभएको र सङ्क्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल एक हजार ७९६ नमूना परीक्षण सम्पन्न भएको छ । काठमाडौँ उपत्यका बाहिर नौ स्थानमा नमूना परीक्षणको सेवा शुरु भएको छ । प्रवक्ता डा देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा परीक्षण शुरु गरिएको छ । आज कञ्चनपुरमा २१ र कैलालीमा १८ नमूना सङ्कलन भएको भएको छ । त्यस्तै, जुम्ला र अछाममा स्वाबको नमूना सङ्कलन शुरु भएको छ । स्वाबको ४०० भन्दा बढी नमूना लिने तयारी छ ।

    हालसम्म काठमाडौँमा १६, उपत्यका बाहिर ८४ गरी कूल १०० जना आइसोलेसनमा छन् । नेपालभरि नौहजार २२८ जना क्वारेन्टाइनमा छन् । वीरेन्द्र सैनिक अस्पताल संयुक्त मेडिकल टोलीले सशस्त्र बल र नेपाल प्रहरीका अस्पतालका २६ जना स्वास्थ्यकर्मीलाई तालीम दिएको पनि डा देवकोटाले जानकारी गराएका छन् ।