• कामाडौँ । उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घइते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । चट्याङमा परेर खनियाबास गाउँपालिका–२ थलीका अन्य २ जना पनि घाइते भएका छन् । चट्याङले दुई घरमा क्षति पुगेको छ भने चट्याङका कारण गाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ । दिउँसोको समयमा परेको चट्याङका कारण घाइते भएका सबैको गाउँमा रहेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।

    यसैगरी रुकुमपश्चिममा पनि चट्याङ लागेर बुधबार एकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–४ मा चट्याङ पर्दा मामाघरमा बस्दै आएकी गङ्गादेव गाउँपालिका रोल्पाकी १३ वर्षीया निर्मला खत्रीको मृत्यु भएको हो । चट्याङ लागेर अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक ठगबहादुर केसीले बताएका छन् । उनका अनुसार बेलुकी साढे ६ बजेतिर स्थानीय गङ्गाराम खड्का र प्रकाश विकको घरमा चट्याङ परेको बताइएको छ । चट्याङ लागेर प्रकाशकी २० वर्षीया श्रीमती अनिता विक भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    अन्य घाइते हुनेमा वडा नं ४ की ११ वर्षीया तुलसा खड्का, १७ वर्षीया सुशीला खड्का, २२ वर्षीया पवित्रा खड्का रहेका छन् । सोही वडाका ५० वर्षीया धनमाया खड्का, चार वर्षीय केशव खड्का, ६० वर्षीया सीता ओली र २८ वर्षीय कपिल खड्कासमेत चट्याङ लागेर घाइते भएका छन् । घाइते सबैको स्वास्थ्यचौकी खुम्चेरीमा उपचार भइरहेकोे छ ।