• बैतडी । चार दिनदेखि सीमामा अलपत्र परेका नेपाली मजदुरहरुलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा आइतबारदेखि अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका कारण सीमानाका बन्द भएपछि सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिएका छन् ।

    झुलाघाटस्थित तालेश्वरमा रहेको धर्मशालामा ५७ र खरक्युडा, जामीरपानी र रज्यौडामा रहेका आधारभूत विद्यालयहरुमा १७० गरेर २२७ जना मजदुरलाई क्वारेन्टाइनमा राखिएको भारतीय एक पत्रकार जानकारी दिएका छन् । ती सबै मजदुरको स्वास्थ्य परीक्षण गरिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरहरुको त्याहाँका स्वास्थ्य चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो । क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरहरुका लागि निःशुल्क खानाको व्यवस्था गरिएको बताइएको छ ।

    जिल्ला प्रशासन कार्यालय पिथौरागढको पहलमा नेपाली मजदुरहरुलाई क्वारेन्टाइनमा राखिएको हो । नयाँ वर्षका लागि घर फर्कन लागेका नेपालीहरु लकडाउनका कारण सीमामा अलपत्र परेका छन् । कतिपय नेपालीहरु महाकाली नदीमा ट्युबका माध्यमबाट तरेर नेपाल भित्रिरहेका छन् । भारतबाट नेपाल भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राखिएको स्थानीय तहहरुले जनाएका छन् ।

    यता जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्म सीमानाका खोल्न नसकिने बताएको छ । लकडाउनका बेलाले आआफ्नो ठाउँमा सुरक्षित बस्नुपर्ने भएकाले सीमानाका नखुल्दासम्म मजदुरहरुलाई नेपाल भित्र्याउन नसकिने बताइएको छ । यसअघि पनि लकडाउनका बेला झुलाघाट नाका खोली २०२ जनाको उद्धार गरिएको थियो ।