• भद्रपुर । झापाका स्थानीय तहमध्ये अधिकांशले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन आकस्मिक राहत कोष स्थापना गरेका छन् । कोषमा प्रत्येकले १० लाखदेखि ५० लाखसम्म बजेट छुट्याएका छन् । मेचीनगर नगरपालिकाले सबैभन्दा बढी रु ५० लाखको राहत कोष स्थापना गरेको छ । मेचीनगरका प्रमुख विमल आचार्यले नगरभित्रका विपन्न परिवारको लगत सङ्कलन भइरहेको जनाउँदै कोषबाट लकडाउनमा बिचल्ली भएका अतिविपन्न व्यक्तिलाई सहयोग पुर्‍याइने बताएका छन् ।

    यसैगरी कनकाई नगरपालिकाले १५ लाख, शिवसताक्षी नगरपालिकाले १० लाख, दमक नगरपालिकाले ३० लाख र कमल गाउँपालिकाले १० लाखको आकस्मिक राहत कोष स्थापना गरेका छन् । झापाका सबै पालिकाले कोष वृद्धिका लागि सहयोग गर्न चाहने व्यक्ति वा सङ्घसंस्थालाई नगद वा जिन्सी जे भए पनि राहत कोषमै जम्मा गर्न अनुरोध गरेका छन् । शिवसताक्षी, कनकाई र दमकका जनप्रतिनिधिले एक महिनाको तलब र भत्ता आकस्मिक राहत कोषमै जम्मा गर्ने भएका छन् ।

    विर्तामोड नगरपालिकाले आकस्मिक राहतका लागि भनेर छुट्टै कोष स्थापना गरेको छैन । तर सङ्कट गहिरिँदै गएको हुँदा विकासका लागि छुट्याएको सबै बजेट कोरोनाको रोकथाम, प्रतिरोध र गरीब वर्गको सहयोगका लागि खर्च गरिने बताइएको छ । स्थानीय तहले यतिबेला पालिकाभित्र रहेका अति विपन्न समुदायको लगत सङ्कलन गर्न टोल विकास समितिलाई परिचालन गरिरहेका छन् । कमल गाउँपालिकाकाले विपन्न जनतालाई भोकले मर्न दिँदैनौँ, दैनिक गुजारा चलाउन मुस्किल हुने मजदुरको लगत सङ्कलन गरेर राहत वितरण गर्ने जनाएको छ ।”

    यसैगरी झापा मेचीनगरका प्रमुख राजनीतिक दलका नेता सम्मिलित मेची अभियानले लकडकाउनका बेला असहायलाई खाद्यान्न वितरण गर्ने उद्देश्यले फुड बैंक स्थापना गरेको छ । फुड बैंकमा देश–विदेशमा रहेका नेपालीले सहयोग घोषणा गर्न थालिसकेका छन् ।