• काठमाडौँ । सरकारले मुलुकभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सङ्क्रामक रोग ऐन २०२० अनुसार अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन जारी गरेको आदेश (लकडाउन) लाई एक साताका लागि थप गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबर बसेको मन्त्रिपरिषद् बैठकले यही चैत ११ गतेदेखि १८ गते बिहान ६ः०० बजेसम्मका लागि जारी गरेको उक्त आदेशलाई यही चैत २५ गते राती १२ः०० बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूूल गर्न उक्त आदेश जारी गरेको थियो ।

    बैठकले यही चैत १० लागू हुने गरी गरेको अन्तरराष्ट्रिय सीमानाका सबै प्रवेश नाकाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णयलाई चैत २५ गते राती १२ः०० बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिएका छन् ।