-
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ ।विश्वव्यापीरूपमा कोरोनाको सङ्क्रमण फैलिएपछि नेपालबाट दुवैतर्फी उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले आफ्नो उडानमा कटौती गरेका हुन् । पछिल्ला दिनमा दिनहुँजसो अन्तर्राष्ट्रिय उडानमा कटौती भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार विमानस्थलमा सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ दैनिक ४५ देखि ५० उडान हुने गरेकामा आज २९ वटा मात्रै उडान भएका छन् । सोमबार ३० वटा अन्तर्राष्ट्रिय उडान भएको थियो । विमानस्थलबाट दुवैतर्फी उडान र अवतरण गर्दा दैनिक सरदर ९५ देखि ९० अन्तर्राष्ट्रिय उडान हुने गरेको छ ।
कोरोनाको प्रभावले हवाई यात्रु घटेपछि हवाई कम्पनीले पनि उडान क्रमशः कटौती गर्न थालेका हुन् । यात्रु कम भएपछि वायु सेवा प्रदायकले धमाधम उडान कटौती गर्न थालेको महाप्रबन्धक केसीको भनाइ छ । उहाँले भन्नुभयो, “दुई दिनयता अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । अझै केही दिन यही प्रक्रिया जारी रहने अवस्था छ ।”
विमानस्थलका अनुसार एयर इण्डियाले पहिला दैनिक चार उडान भर्दै आएकामा अहिले एउटा मात्रै उडान भर्दै आएको छ । कतार एयरवेजले दैनिक चार उडान भर्दै आएकोमा अहिले दुई वटा मात्र उडान गरिरहेको छ । ड्रागन एयरले काठमाडौँ उडान स्थगन गरिसकेको छ । साताको चार उडान भर्दै आएको कोरियन एयरले एउटा मात्र उडान भर्दै आएको छ । विमानस्थलबाट अहिले तीन नेपालीसहित ३० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । हालको अवस्थामा नेपाल आउने मात्र नभई नेपालबाट अन्य गन्तव्यमा उडान भर्ने वायुसेवा प्रदायकले पनि धमाधम उडान कटौती गरिरहेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबई गन्तव्यको उडान स्थगन गरेको छ भने नेपालबाट चीनमा उडान गर्दै आएको निजी लगानीको हिमालय एयरलाइन्सले चीनका चार गन्तव्यमा सातामा १५ उडान भर्दै आएकामा अहिले सबै बन्द गरेको छ । त्यस्तै हिमालयले दुबई र साउदी अरब गन्तव्यको पनि हाललाई अर्को सूचना जारी नभएसम्म उडान स्थगन गर्ने निर्णय गरेको छ । उता चीनबाट नेपाल उडान भर्ने सबै पाँच वायुसेवा प्रदायकले पनि काठमाडौँ विमानस्थलको उडानमा भारी कटौती गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चीन गन्तव्यमा मात्रै पहिला यही याममा सातामा ६० देखि ६२ उडान हुने गरेकामा अहिले सातामा १० वटामात्र उडान भइरहेको छ । चीनबाट नेपाल उडान भर्ने एयर चाइनाले सातामा १४ उडान भर्दै आएकामा अहिले सातामा जम्मा एक उडान गरिरहेको छ । चाइना साउदर्न एयरको सातामा १४ उडान रहेकामा अहिले सातामा दुई मात्रै उडान भइरहेको छ । चाइना इस्टर्नको सातामा ११ उडान थियो भने अहिले सातवटा उडान छ । त्यसैगरी सिचुवान एयरलाइन्सको सातामा चार उडान रहेकामा अहिले सबै बन्द रहेको छ भने सातामा सात उडान भर्दै आएको तिब्बत एयरलाइन्सले पनि अहिले सबै उडान स्थगन गरेको छ ।
पहिला अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ११ हजारभन्दा बढी यात्रुको आगमन हुन्थ्यो भने अहिले करिब पाँच हजार मात्रै यात्रु आगमन भइरहेको विमानस्थलले जनाएको छ ।चीनमा कोरोनाको सङ्क्रमण नियन्त्रणमा आइसकेकाले अब छिट्टै चीनबाट काठमाडौँ उडान सङ्ख्या बढ्ने विमानस्थलले जनाएको छ । चीनबाट उडान गर्ने वायु सेवा प्रदायकले अहिले पनि यात्रु पाएको खण्डमा उडान गर्न तयार रहेकाले आगामी दिनमा चीनबाट नेपालमा हुने उडान बढ्ने महाप्रबन्धक केसीको विश्वास छ । विमानस्थलमा अहिले यात्रुको चहलपहल निकै घटेको छ । प्रस्थान तथा आगमनमा विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको छ । आन्तरिक उडानमा पनि यात्रु घटेपछि उडान सङ्ख्या कटौती भएका छन् । वायुसेवा प्रदायकले सस्तो मूल्यमा टिकट बिक्री वितरण गरी व्यवसाय सञ्चालनलाई निरन्तरता दिएका छन् ।
अहिले मुलुकको आन्तरिक उडानमा पनि झण्डै ५० प्रतिशत विदेशी यात्रु घटेको व्यवसायीले जनाएका छन् । हालकै अवस्थामा ४० प्रतिशत उडान कटौती भएको र आगामी तीन महिनाको अवधिमा झण्डै करिब रु चार अर्ब घाटा हुने वायुसेवा सञ्चालक सङ्घले जनाएको छ । आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्र्दै आएका छन् । रासस
News Desk 0 response मङ्लबार, चैत्र ४, २०७६
सम्बन्धित शीर्षकहरु
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन गर्ने चेतावनी
शनिबार, माघ ५, २०८१भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात जनाको मृत्यु
शनिबार, माघ ५, २०८१गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१