

सुनः कतै गलामा, कतै शौचालयमा
लेनिनले सुनलाई शौचालय बनाउन प्रयोग गर्नुपर्छ भनेका थिए तर, उनै लेलीनका समर्थक सुनलाई गलामा सजाउँछन्
-
काठमाडौं ।
कम्युनिज्मका सफल प्रयोगकर्ता र लेनिवादका प्रबद्र्धक लेनिनले रसियन क्रान्तिको सफलतापछि सन् १९२१ मा सुनलाई शौचालय बनाउन प्रयोग गर्नुपर्छ भनेका थिए ।
नेपालका कम्युनिस्टहरु पनि त्यसको अपवाद हुने कुरा भएन । त्यही भएर माओवादी जनयुद्धको ‘रिहर्सल’ र जनयुद्धताका माओवादीका कयौं नेता–कार्यकर्ताले आफू र आफ्ना परिवारले लगाएको सुन पार्टीलाई बुझाउने अभियान नै चलेको थियो । वर्गसंघर्ष घनीभूत भएका क्षेत्रमा यो अभियान अझ व्यापक र तीब्र थियो । यो परम्परागत ‘सुन सँस्कृति’ र विकृतिविरुद्ध एक प्रकारको विद्रोह थियो । एकातिर यो साँस्कृतिक विद्रोह थियो भने अर्कोतिर जनयुद्धलाई आवश्यक पर्ने अर्थ जुटाउने यो एउटा प्रभावकारी अभियान पनि बनेको थियो । जनयुद्धको विकाससँगै यो अभियानमा माओवादीका कार्यकर्ता–नेता मात्र होइन, कतिपय सर्वसाधारण महिलाले पनि आफ्ना नाक–कान–घाँटीका गहना जनयुद्धलाई सघाउन माओवादी पार्टीलाई हस्तान्तरण गरेका समाचार पढ्न पाइन्थ्यो ।
शान्ति प्रक्रियामा प्रवेश गरेसँगै सुन र माओवादीका कतिपय नेताको सम्बन्ध प्रगाढ बन्दै गयो । सुन अर्थतन्त्रमात्र होइन, सँस्कृति पनि हो । हिजो पार्टीलाई पर्ने आर्थिक संकट टार्न सुन दिने नेता–कार्यकर्ता पछिल्लो समय सुन सङ्कलनमा बढी केन्द्रित हुन थाले । हिजो पार्टीलाई सुन बुझाउन प्रतिस्पर्धा गर्ने माओवादी नेताहरु आज सुन सङ्कलन र प्रयोग गर्ने प्रतिस्पर्धामा लागेका छन् । सुनले सामाजिक विकृति निम्त्याएको दावी गर्नेहरु आज त्यही सुनका गहना प्रदर्शन गर्ने प्रतिस्पर्धामा उत्रिएका छन् । जब सुन सङ्कलन र प्रदर्शन गर्ने प्रतिस्पर्धा हुन्छ, त्यहाँ नाजायज सबै धन्दा हुनु अनिवार्य बन्छ ।
यहाँ दुई वटा प्रतिकात्मक तस्वीर दिइएको छ । माओवादी जनयुद्धमा सहभागी र हाल माओवादीकी नेतृ तथा पूर्वसभामुख ओनसरी घर्तीले संसदमा सपथ खान जाँदा पोतेसहित सुनका गहनाले झकिझकाऊ भएर गएको तस्वीर एउटा छ । माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री र हालका ऊर्जामन्त्री वर्षमान पुनकी जीवनसंगिनी समेत रहेकी ओनसरीको दायाँवायाँ माओवादी नेतृहरु पम्फा भुसाल र जयपुरी घर्ती रहेका छन् । त्यस्तै अर्को एउटा तस्वीर छ– सुन शौचालय बनाउन प्रयोग गर्नुपर्छ भन्ने लेनिनको भनाइ पढेका चीनमा जन्मिएर हङकङमा व्यवसाय गर्ने लम साई–वेङ र उनले बनाएको शौचालयको ।
सुन शौचालय बनाउन प्रयोग गर्नुपर्छ भन्ने लेनिनको भनाइबाट प्रभावित लम चीनमा जन्मिएका थिए । १६ वर्षको युवावयमा लेनिनलाई आफ्नो आदर्श मानेका लम २१ वर्षको उमेरमा व्यवसाय गर्न हङकङ छिरे । पछि उनले लेनिनको भनाइलाई साकार पार्ने उद्देश्यले सुनको शौचालय बनाए । लेनिनको भनाइलाई व्यवहारमा लागू गरेका लमले बनाएको सुनको शौचालयमा ग्राहकको भीड बढ्दो छ । विदेशमा कतिपय धनीमानीले आफ्नो शौचालयमा सुनको लेपन लगाउने गरेका छन् । यता समाजमा अनुत्पादक र आडम्बर देखाउन लगाइने सुनको गहना नलगाउन एकताका अभियान चलाउने माओवादी नेताहरुलाई सुन प्रिय बन्दै जान थाल्नु विडम्बनापूर्ण छ । एउटा व्यवसायी सुनलाई शौचालयमा प्रयोग गरेर लेनिनको भनाइलाई साकार रुप दिन पाएकोमा गर्व लागेको बताउँछन् यता लेनिनवादलाई पथप्रदर्शक सिद्धान्त मानेर मानव जातिको सुनौलो भविष्यको सपना साकार पार्न जनयुद्धमा होमिएका नेताहरुमा सुन–सँस्कृति मौलाउँदो छ ।
उन्नत विचार, संस्कृति र त्याग, बलिदानको आदर्शको यथोचित संयोजन गर्न सकेमा भौतिक शक्ति निर्माण हुन्छ । त्यसैको बलमा क्रान्ति हुन्छ । आमूल परिवर्तन हुन्छ । विचार, संस्कृति र आदर्शमा स्खलन भएमा प्रतिक्रान्ति हुन्छ । ठूलठूला रगतको भेल तरेर क्रान्ति हुने अनि पसिना नबगाई प्रतिक्रान्ति हुने किन भन्ने कुरा जनयुद्धकालमा माओवादीले प्रश्न उठाएको थियो । माओले समाजवादमा पनि निरन्तर क्रान्तिको कुरा गरे, तर साँस्कृतिक क्रान्ति ढिलो गरी सुरु गरेकाले समाजवाद टिक्न नसकेको भन्दै जनयुद्धकालमा नै साँस्कृतिक क्रान्तिलाई प्रस्थान विन्दु बनाउने कुरा तत्कालीन नेकपा (माओवादी) ले गरेको थियो । चिनियाँ जनक्रान्तिको सफलतापछि कठिन समयमा काँचका गोलीबाट नढलेका योद्धाहरु सजिलो अवस्थामा गुलियो गोलीले ढलेको माओले बताएका थिए । नेपालको सन्दर्भमा कठिन अवस्थामा काँचको गोलीले नढलेका योद्धा सजिलो अवस्थामा ‘सुन’ का गोली ढलेका छन् भन्न अप्ठ्यारो मान्नुपर्ने देखिन्न । माओले यस्ता विचलनका विरुद्ध निरन्तर क्रान्तिको नारा दिंदै साँस्कृतिक क्रान्तिको उद्घोष गरे । चीनमा क्रान्ति पूरा भएपछि घटेका यस्ता घटना नेपालमा क्रान्ति पूरा नहुँदै जवर्जस्त देखापरेको छ । सुन जम्मा गर्ने र आडम्बर देखाउने संस्कृति माओवादीमा नै मौलाएको छ ।
पुरानो संस्कृति समाजमा मौलाएसँगै पुराना रीतिथिति पनि पुनर्वहाली हुँदै गएका छन् । माओवादीको मुख्य प्रभावित क्षेत्रमा नै बोक्सी, छाउपडी, छुवाछुत प्रथा मौलाउनुको कारण अग्रगामी विचार, संस्कृति, आदर्श स्खलन हुँदै गएपछि सर्वसाधारण जनतामा पछाडि फर्कने विकल्प बनेको हो ।
संसारलाई साम्यवादसम्मको स्वतन्त्र आकासमा पु¥याउन नेपालमा जनयुद्धको उडान भरेको र जनयुद्धकालमा रोल्पाले विशिस्ट भूमिका खेलेकोमा विवाद छैन । तर, आजभोलि यहाँका अगुवा नेता नै पुरानो संस्कृति, बन्धनमा बाँधिदै पराधीनतातिरको ओरालो रसातलमा ओर्लंदै छन् । इतिहासको गौरवपूर्ण कर्मको पूजा गर्दै सरकार र सुविधा लिनेमा माओवादीभित्र रोल्पाका नेता नै अग्रणी रहेका छन् । एक जमानामा त्याग र बलिदानको पर्याय बनेको माओवादीलाई समाजमा लोभीपापीको नजरले हेर्ने अवस्था बन्दा रोल्पाका अधिकांश नेताहरुको यसमा भूमिका कस्तो छ ? वर्गसंघर्षकालमा उन्नत देखिएका रोल्पाका अधिकांश अगुवा नेताहरु पछिल्लो राजनीतिक परिवेशमा कुन चरित्रको नेतृत्व गरिरहेका छन् ? फेरि पनि वर्षमान पुन भन्दैछन्– घेरामा परेका अध्यक्ष प्रचण्डलाई हामी रोल्पाली साथ दिन्छौं ।
माओवादी आन्दोलन नेपालको पछिल्लो सबैभन्दा उच्च विचार, संस्कृतिले नेतृत्व गरेको आन्दोलन हो । त्याग, बलिदानको उच्च संस्कृतिको प्रदर्शन भएको हो । यसलाई बचाउन र अगाडि जानका लागि उच्च त्याग, बलिदानलाई अपनाइरहनु पर्छ । पछाडि फर्केर, पराधीनताको बाटो समातेर न माओवादी आन्दोलन न त प्रमुख नेतृत्वको रक्षा हुन्छ । आफै पुरानो विचार र संस्कृतिको बन्धनमा बाँधिएकाले कसरी अग्रगामी विचार र नेतृत्वको रक्षा र विकास गर्न सक्छ ? आदर्श अग्रज पत्रकार कृष्ण सेनले लेख्नुभएको छ, ‘शिकारीले बाँधेको छाँद होस् या उसको आफ्नो फाँद होस के फरक पर्छ र मित्र अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी जहाँ गुजारे पनि त्यो जेल हुन्छ ।’
राजनीतिक परिवेश फेरिएको छ । वर्गसंघर्षको तरिका फेरिएको छ तर वर्गसंघर्ष रोकिएको छैन । वर्गसंघर्ष कहिले सुषुप्त र कहिले ज्वारभाटाको रुपमा उठ्छ । अहिले सुषुप्त भएको हो । साम्यवाद नपुग्दासम्म कम्युनिस्टको विचार र संस्कृति कम्युनिस्टकै रहनुपर्छ । रसातलमा झर्ने पुरातन विचार संस्कृति अंगालेर साम्यवादको स्वच्छन्द आकासको यात्रा तय हुँदैन ।समयवद्ध साप्ताहिकवाट
News Desk 0 response मङ्लबार, चैत्र २०, २०७४

सम्बन्धित शीर्षकहरु
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी ठहर, एक वर्ष जेल सजाय
शुक्रबार, असार ५, २०८३-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३



